• ७ वैशाख २०८२, आइतबार

रोल्पामा पुरिएका पाँच मजदुरको शव जिल्ला अस्पताल ल्याइयो

blog

निर्माणधीन पुलको भत्किएको पर्खाल। तस्बिर सौजन्य : धनबहादुर पुन

राजु लामिछाने

रुकुमपश्चिम, मङ्सिर १६ गते। आइतबार बिहान रोल्पाको सुनछहरी गाउँपालिका-३ मा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा मृत्यु भएका पाँच जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रोल्पा ल्याइएको छ। 

वडाको मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणमा खटिएका आठ मजदुर मध्य पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो। सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन मगरले पाँच जना मजदुरको शव लिएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल जाँदै गरेको बताउनुभयो। 

उहाँका अनुसार पुलको फाउन्डेसन बनाउने काममा आठ जना मजदुर कार्यरत रहेको बेला अर्कोतर्फ रहेको कङ्क्रिट गरिएको पर्खाल भत्किएको थियो। "पर्खाल भत्किदा पाँच जनाको पुरिएर मृत्यु भयो भने दुई जना सामान्य घाइते भए। एक जना भने सकुशल छन्,' अध्यक्ष पुनले बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन्। मृत्यु हुनेमा रोल्पाको सुनछहरी गाउँपालिका ३ का ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियार रहेको प्रहरीले जनाएको छ। मृतकहरू एकै गाउँमा आफन्ती हुन्। प्रहरीले घटनाको थप अनुसन्धान अगाडि बढाएको जनाएको छ। 

गाउँपालिकाले तत्काल २५ हजार राहत दिने

गाउँपालिका अध्यक्ष पुनले गाउँपालिकाले मृतकका परिवारलाई राहतका लागि तत्काल २५ हजार रुपियाँ दिने बताउनुभएको छ। ठेकेदार कम्पनीले मजदुरको बिमा गरे, नगरेको बुझ्ने र नगरेको खण्डमा निर्माण कम्पनीबाटै बिमा वापतको रकम भुक्तानीका लागि पहल गरिने समेत गाउँपालिका अध्यक्षले उल्लेख गर्नुभयो। उक्त पुल निर्माणका लागि एल.बी.एन्ड पल्लभी जक्सन जेभी निर्माण सेवाले स्थानीय पूर्वाधार कार्यालय बुटवलसँग ठेक्का सम्झौता गरेको थियो।

घटनास्थल रोल्पा सदरमुकाम लिवाङबाट करिब ४० किलोमिटर उत्तरपूर्व पर्दछ। उक्त झोलुङ्गे पुल निर्माणको काम करिब एक महिना अघिबाट मात्रै सुरु भएको थियो।