• ७ पुस २०८१, आइतबार

ठाकुरबाबामा ६३.८ प्रतिशत मतदान

blog

मतदानका सम्पन्न भएपछि मतदान केन्द्र खाली गराउँदै प्रहरी । तस्बिर : सिराज खान ।

सिराज खान 

नेपालगन्ज, मंसिर १६ गते । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा वडा अध्यक्ष पदका लागि भएको उपचुनावमा मतदान सम्पन्न भएको छ । सो उपचुनावमा ६३.८ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

आइतबार बिहान ७ बजेदेखि सुरु भएको उपचुनावमा जम्मा मतदाता ५ हजार ३१० रहेकोमा बेलुका ५ बजे समय सकिँदासम्म २ हजार ३३९ मत खसेर ६३.८ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले बताउनुभयो । 

ठाकुरबाबा वडा ४ को उपचुनावका मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताउनुभयो । वडा नम्बर ४ को वडा अध्यक्ष पदका लागि भइरहेको उपचुनावमा काँग्रेसबाट अमिन थारु, नेकपा (एमाले) बाट विष्णुप्रसाद देवकोटा, नेकपा (माओवादी केन्द्र) बाट शेरबहादुर थारु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वासुदेव शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रत्न शाही र नागरिक उन्मुक्ति पार्टीबाट प्रितिलाल थारुले प्रतिस्पर्धामा हुनुहुन्छ ।   

यसअघि २०७९ सालको स्थानीय तह निर्वाचनमा काँग्रेसबाट वडा सदस्य पदमा निर्वाचित हुनुभएका अमिन थारुले वडा सदस्यबाट राजीनामा दिएर उपनिर्वाचनमा वडा अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रनुभएको छ । 

त्यतिबेला निर्वाचित वडा अध्यक्ष सूर्यबहादुर विष्ट जिल्ला समन्वय समिति प्रमुख बनेपछि अमिन थारुले कार्यवाहक वडा अध्यक्ष भएर अध्यक्ष पद सम्हाल्नुभएको थियो ।

यस्तै, २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएका पूर्व वडा अध्यक्ष शेरबहादुर थारुलाई यसअघि २०७९ को निर्वाचनमा उम्मेदवार बनाइएको थिएन । अहिले उपनिर्वाचनमा वडा अध्यक्ष पदका लागि उहाँलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको छ । 

यसैगरी नेकपा (एमाले) बाट विष्णु देवकोटालाई वडा अध्यक्ष पदका लागि उम्मेदवार बनाइएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा बर्दियाबाट चुनावी मैदानमा नआएको नागरिक उन्मुक्ति पार्टीले अहिले वडा अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा प्रितिलाल थारुलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले वासुदेव शर्मा र राप्रपाले रत्नबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।