राजु लामिछाने
रुकुमपश्चिम, मङ्सिर १६ गते । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –५ को वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा करिब ८० प्रतिशत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयले आइतबार ५ बजेसम्म ७९.९२ प्रतिशत मत खसेको हो ।
सहायक निर्वाचन अधिकृत गोविन्दप्रसाद कोइरालाका अनुसार एक हजार ४३४ मतदातामध्ये एक हजार १४६ जनाको मत खसेको हो । ६०६ जना महिला र ५०४ जना पुरुषले मतदान गरेको कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मतपेटिका सङ्कलनको काम भइरहेको छ । आजै मत गणनाको काम सुरु हुनेछ ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय घापागारमा रहेको मतदानस्थलमा दुई केन्द्र बनाएर मतदान भएको थियो । मतदान केन्द्र (क) मा सातसय र केन्द्र (ख) मा ७३४ मतदाता गरेर यहाँ जम्मा एक हजार ४३४ जना मतदाता रहेका थिए । मतदातामध्ये ७४४ पुरुष र ६९० महिला रहेका छन् ।
यस वडामा रिक्त वडाध्यक्ष पदका लागि दुई जना उम्मेदवारबिच प्रतिस्पर्धा रहेको छ । नेपाली कांग्रेसको तर्फबाट मोतीराम खत्री र नेकपा (माओवादी केन्द्र) का तर्फबाट जसीराम बस्नेत वडा अध्यक्षका उम्मेदवार हुनुहुन्छ । २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएका अलबहादुर खत्रीको गत वर्ष उपचारको क्रममा निधन भएको थियो ।