शेरबहादुर राई
ओखलढुङ्गा, मङ्सिर १६ गते । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा भएको उपनिर्वाचनमा करिब ५८ प्रतिशत मत खसेको छ । आइतबार भएको मतदानमा ५७.९६ प्रतिशत मतदाताले मतदान गरेको हुन् ।
कुल १३ सय २५ मतदातामध्ये ७६८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले बताउनुभयो । मतदान केन्द्र ‘क’ मा ३८८ र केन्द्र ‘ख’ मा ३८० जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत गौतमको भनाइ छ । उहाँका अनुसार ४०७ जना पुरुष र ३६१ जना महिलाले मतदान गरेका छन् ।
सर्वदलीय बैठक राखेर आज साँझबाट मतगणनाको काम थाल्ने मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभएको छ । मतदान कार्य शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको उहाँको भनाइ छ । वडाध्यक्ष १ पदका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) गरी ६ दलका ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
जिल्ला समन्वय समिति प्रमुखमा भने नेपाली कांग्रेसका टेकराज भट्टराई निर्विरोध चयन हुनुभएको छ ।