तिलाचन पाण्डे
तम्घास, मङ्सिर १६ गते । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्बर–१ को वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा ५४ प्रतिशतले मतदान गरेका छन् । रिक्त वडा अध्यक्ष पदका लागि आइतबार बिहान ७ बजेदेखि भइरहेको मतदानमा दुई हजार २२३ जनाले मतदान गरेको जिल्ला निर्वाचनको कार्यालयका निर्वाचन अधिकृत ऋषिराम घिमिरेले बताउनुभयो ।
अहिले सबै मतदान केन्द्रमा मतदाताको सङ्ख्या कम हुँदै गएको छ । कुल मतदाता सङ्ख्याको ५४ दशमलव तीन प्रतिशतले मतदान गरेका हुन् ।
वडामा चार हजार ९१ जना मतदाता रहेका छन् । वडाध्यक्षका निर्वाचनका लागि तीन वटा मतदान स्थल र पाँच वटा मतदान केन्द्र तोकिएको छ । वडाध्यक्षका लागि आठ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । जसमा पाँच जना राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा (एमाले) बाट दलबहादुर थापा नेकपा (माओवादी केन्द्र) बाट दुर्गाबहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ईश्वरी खाती क्षत्री उम्मेदवार हुनुहुन्छ ।
स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल, कुलबहादुर थापा उम्मेदवार रहेको निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो । त्यस वडामा कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन भएको हो । मतदान सकेलगत्तै मतगणना पनि वडामै गणना हुने घिमिरेले बताउनुभयो ।