रेखीराम राना
तानसेन, मङ्सिर १६ गते । सुन्तलाको प्रचार गरी बजार प्रवर्द्धन गर्न पाल्पाका दुई पालिकाले महोत्सव गर्ने तयारी गरेका छन् । जिल्लाको रिव्दीकोट र रैनादेवी छहरा गाउँपालिकाले सुन्तला महोत्सव गर्ने तयारी गरेका हुन् ।
दुई पालिकाका पाँच सय बढी किसानले उत्पादन गरेको सुन्तलाको बजार खोजी गर्न महोत्सव गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सुन्तलाको बजार खोजी गर्दै नयाँ, ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्न मङ्सिर २१ र २२ गते सुन्तला महोत्सव गर्न लागेको रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिनुभयो ।
सुन्तलाको व्यावसायिक उत्पादनमा लागेका किसानलाई महोत्सवले प्रोत्साहन गर्ने उहाँले बताउनुभयो । महोत्सवले सुन्तला उत्पादन गर्दाका सिकाइ र अनुभव आदान–प्रदान र बजारको सुनिश्चितता गर्न सहयोग पुग्ने बताइएको छ ।
महोत्सवमा सुन्तलाका दाना, जुस, जाम तथा अन्य बस्तुको समेत प्रदर्शन गरिनेछ । यस्तै, सुन्तलाजन्य कृषि बस्तु कागती, अमिलो, जुनार, मुन्तला पनि महोत्सवको स्टलमा रहने रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले जानकारी दिनुभयो ।
महोत्सवमा सुन्तलाको खेती गरिरहेका र सुन्तला खेती गर्न रुचि राख्ने किसानलाई यसको व्यावसायिक खेती, सुन्तलामा लाग्ने रोग तथा यसबाट बच्ने उपायबारेमा सिकाइ सहजीकरण गरिनेछ । रिव्दीकोटका पाँच र रैनादेवी छहराका चार वडामा सुन्तलाको व्यावसायिक खेती गरिन्छ ।
गत वर्ष पाल्पाबाट मात्र ४६ करोडको सुन्तला निर्यात भएको थियो । त्यसमध्ये सबैभन्दा बढी यी दुई पालिकाबाट सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष चौधरीले बताउनुभयो । पाल्पामा सुन्तला खेती बिस्तारका लागि स्थानीय पालिका, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र सुन्तला जात तथा फलफूल विकास केन्द्रले काम गर्दै आएका छन् ।