छविलाल पाण्डे
बुटवल, मङ्सिर १६ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबिच भेटवार्ता भएको छ । बुटवलमा भएको भेटवार्तामा सङ्घीयता कार्यान्वयन र समन्वयलाई प्रभावकारी बनाउने बारेमा कुराकानी भएको छ । अन्तरप्रदेशबिचमा असल अभ्यास र सिकाइहरूलाई आदान–प्रदान गर्दै सङ्घीयता कार्यान्वयनको पक्षलाई बलियो बनाउने, विकास परियोजना र कतिपय सामाजिक मुद्दाबारेमा समेत साझा नीति अवलम्बन गरेर अघि जान सकिने बारेमा मुख्यमन्त्री आचार्यले बताउनुभयो ।
त्यस अवसरमा मुख्यमन्त्री आचार्यले प्रदेशलाई बलियो बनाउने गरी अधिकारको प्रत्यायोजन, कार्यान्वयन र सहकार्यलाई बलियो बनाउने गरी प्रदेश सरकारले भूमिका प्रभावकारी बनाउँदै लगेको, बनेका नीति नियमको कार्यान्वयन गर्दै भ्रष्टाचार नियन्त्रण गर्न सरकारले अघि बढाएका योजनाबारेमा जानकारी गराउनुभयो ।
समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको आकाङ्क्षा पूरा गर्न प्रदेश सरकारले आफ्नो भूमिकाहरू बढाउँदै लगेको बताउँदै मुख्यमन्त्री आचार्यले नीतिगत सुधार गर्दै हालसम्म बनेका ऐन, कानुनको कार्यान्वयनलाई समेत प्रभावकारी बनाउन ध्यान दिएको भेटमा चर्चा भएको बताउनुभयो ।
योजना कार्यान्वयनमा देखिएका समस्यालाई दीर्घकालीनरुपमा हल गर्नेगरी सरकारले भूमिका बढाएको मुख्यमन्त्रीको भनाइ छ । त्यसैबिच भेटमा प्रदेशहरुबिचको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउने, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारबिचमा समृद्धिलाई सघाउन साझा नीति तथा रणनीतिबारेमा छलफल भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रदेशमा सञ्चालन हुने ठुला पूर्वाधार परियोजना, सीमावर्ती क्षेत्रमा विकासका लागि समन्वयको हात बढाउने बारेमा पनि कुराकानी भएको छ । प्राकृतिक स्रोतहरूको साझा उपयोग र संरक्षण, प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण तथा खोज तथा उद्धारमा सहकार्य गर्नेबारेमा समेत चर्चा गरिएको बताइएको छ । त्यस अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश–प्रदेशबिच सहकार्य र समन्वयलाई थप गति दिनेगरी भूमिका बढाउनुपर्ने बताउनुभएको थियो ।