दमौली (तनहुँ), मङ्सिर १६ गते । जिल्लाको म्याग्दे गाउँपालिका–७ पयरेमा अवस्थित नीलकण्ठेश्वर सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि विस्तृत अध्ययन गरिएको छ । म्याग्दे गाउँपालिकाका प्राविधिकहरूले मङ्सिर ९ देखि १२ गतेसम्म उक्त ठाउँको विस्तृत अध्ययन प्रतिवेदन तयार गरेका हुन् ।
यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित अध्ययन गरी सुधारका योजनासहितको प्रतिवेदन तयार गरिएको निलकण्ठेश्वर महादेव सिद्धेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष श्रीभद्र आचार्यले बताउनुभयो । पर्यटकीय सम्भावना भए पनि प्रचारप्रसारको अभावमा यो ठाउँ ओझेलमा परेपछि प्रवर्द्धनका लागि पहल गरिएको उहाँले बताउनुभयो । यहाँको प्रचारप्रसार तथा पर्यटकीय सम्भावनालाई उजागर गरी धार्मिक गन्तव्यस्थल बनाउने उद्देश्यले स्थानीयवासी जुटेका हुन् ।
धेरै वर्ष पहिलादेखि यहाँ रहेको यो गुफाको आवश्यक संरक्षण र प्रवर्द्धन नहुँदा ओझेलमा परेको बताउँदै आचार्यले यसको संरक्षण गरेर पर्यटकीय गतिविधि विस्तारमा जोड दिइएको उल्लेख गर्नुभयो ।
“यस गुफाका बारेमा धेरैलाई थाहा छैन, सामाजिक सञ्जालमार्फत हामीले प्रचारप्रसारमा जोड दिएका छौँ । स्थानीय सरकारलाई पनि यहाँ सम्भावना उजागरमा सहयोगसहित पूर्वाधार विकासका लागि अनुरोध गरेका छौँ । सोअनुरूप पहिलो चरणको अध्ययन सकिएको छ । अब पूर्वाधार निर्माणमा जोड दिनेछौँ ।”
आचार्यसहित स्थानीयवासीले केही समयअघि मात्रै गुफाभित्र शिवलिङ्ग, गणेश, नाग, शङ्खलगायत भगवान्का आकृतिसहितका संरचना फेला पारेका हुन् । उहाँले भन्नुभयो, “गुफाभित्र शिवलिङ्ग भएका बारेमा हामीलाई पनि थाहा थिएन, गुफा अवलोकनका क्रममा उक्त शिवलिङ्ग भेटियो । नजिक भएर पनि हामी अन्यौलता रहेछौँ । शिवलिङ्गमा आफैँ जल चुहिने गरेको छ ।” शिवलिङ्गको माथिपट्टि रहेको ढुङ्गाबाट आफैँ जल चुहिएर शिवलिङ्गमा झर्ने गरेको उहाँको भनाइ छ ।
आचार्यले भन्नुभयो, “परापूर्वकालमा यस ठाउँमा भगवान् शिवजीले बास गरेको विश्वास स्थानीयमा छ । यहाँ एक सय आठ बेलका वृक्षहरू पनि छन् । यहाँको वस्तुस्थिति हेर्दा शिवको बास थियो भन्ने कुरामा द्विविधा छैन । यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ भनेर हामी जुटेका हौँ ।”
सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि स्थानीय सरकारले पनि चासो देखाएको छ । यस ठाउँलाई म्याग्दे गाउँपालिकाको पर्यटकीयस्थलका रूपमा लिँदै आगामी दिनमा यसको व्यवस्थापनमा पालिकाले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाले पालिकाभित्रका सबै पर्यटकीयस्थलको प्रचारप्रसार, प्रवर्द्धन, पूर्वाधार निर्माणमा सहयोग गरिरहेको छ । यहाँको विकासका लागि पालिकाले निरन्तर सहयोग गर्नेछ ।” रासस