• ७ पुस २०८१, आइतबार

बर्दियाको ठाकुरबाबा-४ मा ७१ प्रतिशत मतदान

blog

मतदानमा सहभागी हुँदै वडा नम्बर ४ का मतदाता । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर १६ गते । बर्दियाको ठाकुरबाबा नगरपालिका-४ मा वडा अध्यक्ष पदका लागि भएको उपचुनावमा हालसम्म ७१ प्रतिशत मतदान भएको छ । आइतवार विहान ७ बजेदेखि सुरु भएको उपचुनाव मतदानमा जम्मा मतदाता ३ हजार ५१० रहेकोमा अपरान्ह २ बजेर ३० मिनेटसम्म २ हजार २३ मत खसेर ७१ प्रतिशत मतदान भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, मुख्य निर्वाचन कार्यालयका अनुसार दिउँसो १२ बजेसम्ममा एक हजार ९०४ मत खसेको हाे ।

ठाकुरबाबा ४ को उपचुनावका मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताको उत्साहजनक सहभागिता रहेको बताउनुभयो । उहाँले हालसम्म ठाकुरबाबा नगरपालिकामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाउँदै वडा नम्बर ४ को वडा अध्यक्ष पदमा ६ दलका उम्मेदवार मैदानमा रहेको बताउनुभयो । 

वडा नम्बर ४ का वडा अध्यक्ष पदका लागि भइरहेको उप चुनावमा नेपाली काँग्रेसबाट अमिन थारु, नेकपा एमालेबाट विष्णु प्रसाद देवकोटा, नेकपा माओवादी केन्द्रबाट शेर बहादुर थारु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वासुदेव शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रत्न शाही र नागरिक उन्मुक्ति पार्टीबाट प्रितिलाल थारुले प्रतिस्पर्धा गरिरहनु भएको छ ।  

यसअघि २०७९ सालको स्थानीय तह निर्वाचनमा काँग्रेसबाट वडा सदस्य पदमा निर्वाचित हुनुभएका अमिन थारुले वडा सदस्यबाट राजीनामा दिएर उपनिर्वाचनमा वडा अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिनुभएको छ । 

त्यतिबेला निर्वाचित वडा अध्यक्ष सूर्य बहादुर विष्ट जिल्ला समन्वय समिति प्रमुख बनेपछि अमिन थारुले कार्यवाहक वडा अध्यक्ष भएर अध्यक्ष पद सम्हाल्नुभएको थियो । यस्तै २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएका पूर्व वडा अध्यक्ष शेर बहादुर थारुलाई यसअघि २०७९ को निर्वाचनमा उम्मेदवार बनाइएको थिएन । अहिले उपनिर्वाचनमा वडा अध्यक्ष पदका लागि उहाँलाई नेकपा माओवादी केन्द्रले उम्मेदवार बनाएको छ । 

यसैगरी नेकपा एमालेबाट विष्णु देवकोटालाई वडा अध्यक्ष पदका लागि उम्मेदवार बनाइएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा बर्दियाबाट चुनावी मैदानमा नआएको नागरिक उन्मुक्ति पार्टीले अहिले भने वडा अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा प्रितिलाल थारुलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले वासुदेव शर्मा र राप्रपाले रत्न बहादुर शाहीलाई उम्मेदवार बनाएको छ।

बर्दियाका ८ स्थानीय तह मध्ये ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ४ मा मात्रै उपनिर्वाचन हुँदैछ । बर्दिया ठाकुरबाबा नगरपालिका–४ को उप निर्वाचनका लागि २ मतदान केन्द्र र ५ मतदान स्थल बनाइएको छ ।