• ७ पुस २०८१, आइतबार

कपिलवस्तुको शुद्धोधन १ मा २७ सयभन्दा बढी मत खस्यो

blog

कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा मतदान जारी । तस्बिरः नारद कोहार

नारद कोहार
तौलिहवा (कपिलबस्तु), मङ्सिर १६ गते ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. १ मा उत्साह पूर्वक मतदान जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार दिउँसो १ बजेसम्म दुई हजार सात सय ३० मत खसेको छ । मतदान बिहान ७ बजेबाट सुरु भएको हो ।

जिल्ला निर्वाचन अधिकारी अमरबहादुर वलीका अनुसार तीन वटा मतदानस्थलमा ६ वटा मतदान केन्द्र स्थापना गरिएको छ । शुद्धोधन गाउँपालिका १ मा निर्वाचनका लागि दुई हजार ११२ महिला र दुई हजार सात सय ५६ पुरुष गरी चार हजार आठ सय ६८ मतदाता  छन् । 

नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिलकराम यादवको २०८१ असोज ८ गते निधन भएपछि रिक्त रहेको सो पदका लागि उपनिर्वाचन हुँदैछ ।

उक्त पदका लागि चार स्वतन्त्रसहित १४ जना प्रतिस्पर्धामा छन् । निर्वाचनलाई भयरहित ढङ्गबाट सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताउनुभयो ।