वसन्त पराजुली
नारायणगढ, मङ्सिर १६ गते । चितवन भन्नेबित्तिकै कुनैबेला तोरीको जिल्ला भनेर चिनिन्थ्यो तर अहिले तोरी खेती बिस्तारै घट्दो छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा चितवनमा १३ हजार ६४२ हेक्टर क्षेत्रफलमा भएको खेतीमा १७ हजार ६८९ मेट्रिक टन तोरी उत्पादन भएको थियो । जबकी आर्थिक वर्ष २०७९/८० मा १४ हजार ७६५ हेक्टर क्षेत्रफलमा खेती हुँदा १९ हजार १९४ मेट्रिक टन तोरी उत्पादन भएको थियो ।
कृषि ज्ञान केन्द्रका प्रमुख झलकनाथ कँडेल यस वर्ष तोरी खेतीको क्षेत्रफल अझै घट्ने बताउनुहुन्छ ।
“यस वर्ष कति क्षेत्रफलमा तोरी खेती भएको छ भन्ने यकिन तथ्याङ्क सङ्कलन हुँदै छ तर पनि अघिल्लो वर्षको तुलनामा तोरी खेती गर्ने जमिनको क्षेत्रफल घट्दो छ,” उहाँले भन्नुभयो । उहाँले पूर्वी चितवनका धेरै किसानले यस वर्ष तोरी छाडेर राज्मा लगाएको पनि जनाउनुभयो । भरतपुर महानगरपालिका–२५, शुक्रनगरका किसान निरन्जन सापकोटा अघिल्लो वर्ष चार बिघा क्षेत्रफलमा तोरी लगाए पनि यस वर्ष घटेर तीन बिघामा मात्रै लगाएको बताउनुहुन्छ । “मैले यस वर्ष तोरी खेती घटाएको छु । तोरी खेती गर्ने जमिनमा गहुँ र फापर खेती गर्ने योजनामा छु,” उहाँले भन्नुभयो ।
“हामी परम्परागत रूपमा खेती गर्ने किसानको मल जल मिलेन होला उत्पादन घट्न थालेपछि बिस्तारै यसको विकल्प खोज्न लागेको हो,” उहाँले भन्नुभयो ।
बाली विकासविज्ञ एवं कृषि तथा वन विज्ञान अध्ययन संस्थान रामपुरका सहप्राध्यापक डा. माधव न्यौपाने तोरीको खेती घट्नुमा सबैभन्दा ठुलो चुनौती उन्नत मल बिउको अभाव भएको बताउनुहुन्छ ।
“उन्नत मल बिउ उत्पादनमा न सरकारको ध्यान छ न त किसानले नै उत्पादन गरेका छन् । अनि तोरी खेती किन नघट्नु ?” उहाँले भन्नुभयो । अहिले भारतबाट आउने मल बिउका भरमा तोरी खेती गर्न किसान बाध्य भएको तर त्यो गुणस्तरीय नहुँदा समस्या भएको उहाँले जनाउनुभयो । जलवायु परिवर्तनले आएको मौसम बदलावले पनि तोरीमा ढुसी लाग्ने मात्रा बढेको उहाँले बताउनुभयो ।
कुनै पनि अन्न उत्पादनका लागि माटोको अम्लीयपन ६.५ पिएचभन्दा माथि हुनु पर्छ तर अहिले बारीमा अम्लयीपनको मात्रा ४.५ पिएच मात्रै छ ।
विगतमा गोबर मल प्रयोग हुँदा अन्नबालीका लागि चाहिने पोषणको मात्रा सन्तुलन भए पनि अहिले त्यो नहुँदा समस्या भएको उहाँले औँल्याउनुभयो । तोरी खेतीमा सल्फरको मात्रा भने एमोनियम सलफेस हुने चिनी मलले आपूर्ति गर्न सक्ने उहाँको सुझाव छ । केन्द्रका प्रमुख कँडेल भने तोरी खेतीका लागि उन्नत मल बिउको अभाव भएको मान्न तयार हुनुहुन्न ।
“बिउका हकमा धेरै जसो किसानले स्वयम् नै उत्पादन गरेर पछिल्लो वर्षलाई सञ्चित गरेर राख्छन् । मल पनि समयमै पाइएकै छ,” उहाँले भन्नुभयो । उहाँले अहिले किसानले तोरी खेती कम गर्नुको मुख्य कारण बजार नै भएको तर्क गर्नुभयो ।
“अघिल्ला वर्षमा तोरीको मूल्य १४ हजार रुपियाँभन्दा बढी थियो । अहिले मूल्य घटेर १२ हजार रुपियाँभन्दा पनि कम छ अनि किसान किन अरू बालीमा आकर्षण हुँदैनन् ?” उहाँको प्रश्न थियो ।