गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १५ गते । सुनीलकुमार झाको पुस्तक ‘देशको पीडा विदेशको पीर’ सार्वजनिक गरिएको छ । स्वामी डा. केशवानन्द गिरीको प्रमुख आतिथ्यमा पुस्तक लोकार्पण गरिएको हो ।
प्रमुख अथिति स्वामी केशवानन्दले आफूलाई लेखक र किताबको शक्तिले तानेर कार्यक्रममा ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “म प्रायः यस्ता कार्यक्रममा जान्नँ तर पुस्तक पल्टाएर हेरेँ । रामायण, महाभारत, दर्शन र नीतिका कुरा छन् । पुस्तक लिएर आइटी इन्जिनियर सुनीलजी जानुभएको छ, जो बुढापाका र आफ्नो धर्मसंस्कृतिको कुरा गर्नुहुन्छ । मलाई सुनीलजीका कुरा र किताबको शक्तिले कार्यक्रममा लिएर आयो । हाम्रा धर्म, नीति, दर्शन, संस्कृति र माटोको सुगन्ध पुस्तकमा जताततै छ ।” पुस्तकको समीक्षा गर्दै कृष्णमुरारी भण्डारीले मधेश, पहाड र हिमाललाई बुझ्न यो किताब पढ्न आवश्यक रहेको जिकिर गर्नुभयो ।
लेखक झाले सानै उमेरबाट काका (बडाबा) सदानन्द झाबाट ज्ञानगुनका कुरा सुन्ने गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “मैले सानोमा त काकाले भनेका धेरै कुरा बुझिनँ तर जब अमेरिका पुगेँ तब काकाले भनेका कुराले मलाई पथप्रदर्शन गरे । जब सफलता प्राप्त गरेँ अनि काकाका विचार र कुरालाई प्रकाशनमा ल्याउनु पर्छ भन्ने लाग्यो ।