• १५ मंसिर २०८१, शनिबार

प्राज्ञिक लेखन कार्यशाला

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १५ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान अनुसन्धान, अभिलेख तथा प्रकाशन विभागद्वारा आयोजित प्राज्ञिक लेखन कार्यशाला बिहीबार सकिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य उपप्राध्यापक डा. बालकृष्ण अधिकारीले ‘अनुसन्धान लेखको संरचना र प्रक्रिया’ शीर्षकको कार्यपत्रमा अनुसन्धान लेखको परिचय, संरचना, लेखका अङ्गको परिचय, अनुच्छेदको सङ्गठनलगायतका विषयको चर्चा गर्दै शोधलेखनले ज्ञानको व्यवस्थित प्रकाशन र नवीन ज्ञानको खोजी गर्दै अनुसन्धानमा मौलिक पद्धति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले  अन्य विधाका अनुसन्धान र ललितकलाको अनुसन्धानबिचको भिन्नता बुझेर गम्भीर अवलोकनपछि मात्रै ललितकलाको प्राज्ञिक लेखन गर्न सकिने विचार व्यक्त गर्नुभयो । ललितकला प्रज्ञा जर्नलका कार्यकारी सम्पादक विष्णु ज्ञवालीले कार्यपत्रमाथि टिप्पणी गर्दै अनुसन्धान लेखनलाई जटिलतातर्फ नलगी वस्तुपरकतातर्फ उन्मुख गराउनुपर्ने बताउनुभयो । 

नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका पूर्वनिर्देशक प्राडा विष्णु दहालले पूर्वीय र पाश्चात्य शोध पद्धतिका आधारमा ललितकलाका सबै विधाको अनुसन्धान गर्दै प्राज्ञिक लेखन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक तेजविलास अधिकारीले प्राज्ञिक अनुसन्धानले सिर्जनालाई परिचित तुल्याउँदै सम्मानको वातावरण सिर्जना गर्ने भन्दै यसले ललितकलाका विविध फाँटमा अनुसन्धानका लागि मार्ग प्रशस्त गर्ने विचार राख्नुभयो । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रतिष्ठानका विभिन्न गतिविधिबाट प्राज्ञिक लेखनका निम्ति वातावरण तयार गर्दै अगाडि बढेको उल्लेख गर्नुभयो । ललितकलाका क्षेत्रमा शोध, अनुसन्धान अपर्याप्त रहेको विचार राख्दै उहाँले त्यसको प्रवर्धनका लागि नियमित छलफल चलाइएको बताउनुभयो । 

कार्यपत्र प्रस्तुतिमाथि प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य प्रदीप अधिकारी, प्राज्ञ एससी सुमन, अजय शर्मा, विक्रममणि त्रिपाठी, केशवराज खनाल, जगत् वाशिष्ठलगायतले प्राज्ञिक लेखनका विविध पक्षमा जिज्ञासा राख्नुभएको थियो ।