• १८ मंसिर २०८१, मङ्गलबार

नौ हजार उद्योगमा तिस खर्ब लगानी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १४ गते ।  मुलुकभर स्थापना भएका नौ हजार उद्योगमा ३० खर्बभन्दा बढी लगानी देखिएको छ । 

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दर्ता भएका नौ हजार ५१५ उद्योगमा ३० खर्ब ३९ अर्ब ३३ करोड लगानी रहेको हो । ती उद्योगबाट सात लाख पाँच हजार ८७८ जनालाई रोजगारी प्रदान गर्ने अनुमान गरिएको छ । गत आवमा दर्ता भएका उद्योगमा ७७ प्रतिशत साना उद्योग, १२ प्रतिशत मझौला र ११ प्रतिशत ठुला उद्योग रहेका छन् । गत आवमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै उत्पादनमूलक तीन हजार पाँच सय उद्योगमा छ खर्ब ५४ अर्ब १९ करोड ७४ लाख रुपियाँ लगानी रहेको छ । 

यस्तै दुई हजार ४९४ सेवामूलक उद्योगमा दुई खर्ब ७८ अर्ब २६ करोड रुपियाँ लगानी रहेको छ । पर्यटनमूलक दुई हजार १२६ उद्योगमा दुई खर्ब ५७ अर्ब ८५ करोड लगानी रहेको विभागको तथ्याङ्क छ । 

यस्तै ५६८ पूर्वाधारमूलक उद्योगमा एक खर्ब ७३ अर्ब ३४ करोड रुपियाँ लगानी भएको छ । ७५ वटा सूचना प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योगमा ५७ अर्ब ४७ करोड ३६ लाख रुपियाँ लगानी रहेको छ । यस्तै ५४६ कृषिमा आधारित उद्योगमा ४२ अर्ब ८० करोड ६६ लाख रुपियाँ र ८० खनिजजन्य उद्योगमा आठ अर्ब ३३ करोड ८१ लाख रुपियाँ लगानी रहेको छ । 

यसैबिच चालु आव २०८१/८२ को प्रथम त्रैमासिकमा १९९ उद्योगमा ३३ अर्ब ६९ करोड रुपियाँ लगानी प्रस्ताव भएको छ । ती उद्योगबाट नौ हजार ६६८ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ । चालु आवमा ५५ वटा ठुला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा प्रथम त्रैमासिकमा ११ वटा उद्योग दर्ता भएका छन् । 

चालु आवमा ५० वटा मझौला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा त्रैमासिकमा १० वटा उद्योग दर्ता भएका छन् । यस्तै दुई सय वटा साना उद्योग दर्ता गर्ने लक्ष्यमा त्रैमासिकमा १७८ वटा उद्योग दर्ता भएका छन् । सबैभन्दा धेरै साना उद्योग दर्ता भएको विभागको तथ्याङ्कले देखाएको छ । तीन महिनामै साना उद्योग दर्ता सङ्ख्या वार्षिक लक्ष्यनजिक पुगेको तथ्याङ्कले देखाएको छ । 

यस्तै प्रथम त्रैमासिकमा १३१ परियोजनामा १६ अर्ब हजार ५५ करोड रुपियाँ विदेशी लगानी प्रस्ताव आएको छ । विदेशी लगानीबाट सञ्चालित उद्योगबाट तीन हजार ८४५ जनालाई रोजगारी दिने अनुमान गरिएको छ । चालु आवभरिमा ४४ अर्ब विदेशी लगानी प्रस्ताव गरिएको उद्योग विभागले जनाएको छ ।