• १३ मंसिर २०८१, बिहिबार

ओखलढुङ्गा कांग्रेस सङ्गठन सुदृढीकरणमा केन्द्रित

blog

नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि सूचना तथा सञ्चार विभाग प्रमुख मिनबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा सुरु भएको अभियान । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई
ओखलढुङ्गा, मङ्सिर १३ गते । नेपाली कांग्रेस ओखलढुङ्गाको सयदिने अभियान सङ्गठन सुदृढीकरणमा केन्द्रित गरेर सञ्चालन गरिएको छ । अभियानअन्तर्गत नेपाली कांग्रेस जिल्ला कार्य समितिले सङ्गठन सुदृढीकरण कार्यक्रमलाई प्राथमिकता दिएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि सूचना तथा सञ्चार विभाग प्रमुख मीनबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा अभियान सुरु भएको नेपाली कांग्रेस जिल्ला कार्य समिति सचिव राजकुमार ढुङ्गानाले बताउनुभयो । जिल्लाको आठ स्थानीय तहमध्ये चार वटामा पालिका स्तरीय कार्यक्रम सम्पन्न भएको भएको सचिव ढुङ्गानाले जानकारी दिनुभयो ।

सिद्धिचरण नगरपालिका, चिशंखुगढी, मानेभञ्ज्याङ र मोलुङ गाउँपालिकामा पालिका स्तरीय अभियान सम्पन्न भइसकेका छन् । बाँकी रहेका सुनकोशी, चम्पादेवी, लिखु र खिजिदेम्बा गाउँपालिकाको पालिका स्तरीय कार्यक्रम मङ्सिर २५ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने योजना रहेको सचिव ढुङ्गानाको भनाइ छ । अभियानअन्तर्गत नेपाली कांग्रेसका वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्र तहका नेता कार्यकर्ताहरू परिचालित छन् । यस अवसरमा नागरिकको समस्या, माग, गुनासो बुझ्ने तथा सङ्कलन गर्ने काम भएको छ ।

पार्टी र जनप्रतिनिधि प्रति नागरिकको धारण बुझ्ने र गुनासो सम्बोधन गर्ने काम समेत भइरहेको छ । गाउँ तहमा रहेका नागरिकलाई केन्द्र विन्दुमा राखेर आवश्यक विकास, समस्या समाधान तथा उनीहरूको अवस्था नजिकबाट बुझ्ने काम भएको सचिव ढुङ्गानाले जानकारी दिनुभयो । आठ वटै स्थानीय तहका ७५ वटा वडा तहमा पुगेर पार्टी र जनप्रतिनिधि प्रति नागरिकको धारणा बुझ्ने कामलाई प्राथमिकता दिइएको कांग्रेस ओखलढुङ्गाले जनाएको छ ।

पालिका तथा वडा तहमा महाधिवेशन प्रतिनिधिहरूलाई र प्रदेश क र ख मा दुई जना पार्टी सभापति कमल तामाङ र नवराज केसीलाई संयोजक तोकिएको छ । अनुगमन समितिमा पार्टी सभापति तेजेन्द्र खनाल र केन्द्रीय सदस्यद्वय रामहरि खतिवडा र प्रदीपकुमार सुनुवार हुनुहुन्छ । अगामी पुस २ गते खिजिदेम्बा गाउँपालिकामा पुगेर कांग्रेस ओखलढुङ्गाको सय दिने अभियान सम्पन्न हुने बताइएको छ ।