बैतडी समाचारदाता
बैतडी, मङ्सिर ११ गते । ऐतिहासिक शर्मालीगढी किल्ला जाने बाटोमा रहेको गोर्खाली न्वालो (कुवा) मा सिमेन्टको प्रयोगले गर्दा पानी घट्न थालेको छ । नेपाल–अङ्ग्रेज युद्धका बेला तत्कालीन गोर्खाली सेनाले निर्माण गरेको कुवालाई स्थानीयले गोर्खाली न्वालो भन्ने गरेका छन् । यो कुवा शर्मालीका स्थानीयको पानीको एक मात्रै स्रोत हो ।
शिवनाथ गाउँपालिका–२, मा रहेको शर्मालीगढी किल्लानजिकै रहेको कुवामा पानी घट्न थालेपछि स्थानीयले विकल्पमा टाढाको मुहानबाट खानेपानीका पाइप प्रयोग गरेर गाउँमा पानी पु¥याएपछि कुवा संरक्षणमा कसैले चासो दिएका छैनन् । सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अङ्ग्रेज युद्धका बेला सो कुवा निर्माण भएको थियो । अङ्ग्रेजसँगको लडाइका बेला डडेलधुराको अमरगढी किल्लाबाट बैतडीको शर्मालीगढीहुँदै तत्कालीन सेना नालापानी गएको बताइन्छ । गोर्खाली कुवा सुक्न थालेपछि इतिहास नै मेटिने खतरा रहेको स्थानीय नागार्जुन मावि शर्मालीका प्रधानाध्यापक महामलसिंह साउदले बताउनुभयो । उहाँले गोर्खाली किल्लासँगै कुवाको पनि संरक्षण हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नागार्जुन माविमा खानेपानी पुग्नुअघि यही गोर्खाली कुवाबाटै विद्यार्थीले पानी खान्थे । ऐतिहासिक कुवा भएकाले यसको संरक्षण जरुरी छ । कुवा सुके इतिहास नै मेटिने डर भए पनि सरोकारवालाले चासो दिएका छैनन् ।” शर्मालीगढी किल्लाको पुनर्निर्माण गर्न गाउँपालिकाले चार वर्षअघि डिपिआर तयार गर्दा कुवाबारे योजना बनाएर पर्यटन मन्त्रालय र पुरातत्व विभागमा पेस गरे पनि बजेट नआउँदा संरक्षणको काम अघि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो ।
उहाँले डिपिआरमा गोर्खाली कुवा, किल्लाको संरक्षण, पदमार्ग, कोतखाना निर्माण र किल्ला वरिपरि पानीको तलाउ भएको पर्खाल निर्माण गर्न योजना बनाइएको जानकारी दिनुभयो । किल्ला र कुवाको मौलिकता जेजस्तो हो त्यही स्वरूपमा पुनर्निर्माण गर्न करिब चार करोड रुपियाँको लागतमा डिपिआर तयार भएको गाउँपालिकाका अध्यक्ष साउदले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कुवामा सिमेन्ट लगाउनु राम्रो होइन । छिट्टै पुनर्निर्माण गर्छौं । किल्ला संरक्षण गर्न नेपाली सेनाको अगुवाइमा किल्लासम्म पुग्ने २६३ मिटर बाटो बनाइए पनि किल्ला पुनर्निर्माण गर्न बजेट नै आउँदैन ।”
समुद्री सतहबाट एक हजार ४७५ मिटर उचाइमा रहेको शर्मालीगढीको किल्लालाई स्थानीयले अमरगढी किल्ला पनि भन्ने गरेका छन् । यो किल्लाबाट डडेलधुरास्थित अमरगढी किल्ला र भारतको पिथौरागढसम्मको दृश्यावलोकन गर्न सकिन्छ ।