• १२ पुस २०८१, शुक्रबार

राप्तीसोनारीमा राष्ट्रपति रनिङ शिल्डको तयारी

blog

१७औँ राष्ट्रपति रनिङशिल्ड र सातौँ गाउँपालिका रनिङ शिल्ड प्रतियोगिताको तयारी बैठकमा सहभागिहरु । तस्बिर : गोरखापत्र

कमल खत्री

धम्बोझी, मङ्सिर ८ गते । बाँकेको राप्तीसोनारी गाउँपालिकाले गर्न लागेको १७औँ राष्ट्रपति रनिङशिल्ड र सातौँ गाउँपालिका रनिङ शिल्ड प्रतियोगिताको तयारी तीव्र गतिमा अगाडी बढिरहेको छ । 

आगामी पुस १३ गतेदेखि १५ गतेसम्म शिवशक्ती मावि पेडारीमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको तयारी, व्यवस्थापन र त्यसलाई भव्यता दिने विषयमा विभिन्न पक्ष र सरोकारवालासँग छलफल तथा अन्तरक्रिया भइरहेको गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बताउनुभयो । 

राप्तीसोनारी गाउँपालिकामा रहेका विद्यालयका प्रअहरु सम्मेलित एउटा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पौडेलले प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी गराउन निर्देशन दिनु भएको छ । 

प्रतियोगितामा सम्पूर्ण विद्यालयको सक्रिय सहभागिताको आवश्यकता औँल्याउँदै अध्यक्ष पौडेलले व्यवस्थापनमा भूमिका खेल्न आग्रह गर्नुभयो । यो पटक थप प्रभावकारी र आकर्षित गर्नका निमित्त विद्यालयस्तरीय लोक नृत्य (एकल) प्रतियोगिता र विज्ञान प्रदर्शनी प्रतियोगिता समेत समावेश गर्न अध्यक्षले सुझाव दिएको शिवशक्ति माविका प्रअ पुरस्कार खड्काले जानकारी दिनुभयो । 

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, दौड (ट्रयाक)तर्फ छात्र सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, १५ सय मिटर, ३ हजार मिटर दौड, रिले दौड, उफ्रने र फ्याक्ने, हाइजम्म, लङजम्प, ज्याभलिङ थ्रो, मार्सल आर्ट, कराँते, तेकवान्दो लगायतका इभेन्टहरू समावेश हुनेछन् । 

राप्तीसोनारीमा ७२ वटा विद्यालय छन् । आधारभूत तहका विद्यालयलाई वडामै प्रतिस्पर्धा गराइनेछ । त्यहाँबाट छनौट भएका विद्यालयले पुस १३ गतेदेखि १५ गतेसम्म चल्ने प्रतियोगितामा समावेश गरिने पनि प्रअ खड्काले बताउनुभयो । प्रतियोगितामा माध्यमिक तहका २४ विद्यालयले सहभागिता रहनेछ ।