• ११ पुस २०८१, बिहिबार

विपर्यास (कथा)

blog

ऊ निराश थियो । निराशाको कारण चाहिँ देशको राजनीतिक बेथिति थियो । अनि त्यही बेथितियुक्त राजनीतिका कारण आफूले भोग्नु परेको पीडाले ऊ निराश र उदास थियो । त्यही निराशा र उदासीले गर्दा ऊ एकान्तप्रिय र एकलकाँटे भएको थियो । पत्रपत्रिका मात्रै उसका साथी थिए । पत्रपत्रिका पढ्ने उसको पुरानो बानी हो ।

ऊ पत्रिका पढ्दै थियो । पत्रिकामा आशा खोज्दै थियो । आशाको खोजीमा पत्रिका पढ्ने ऊ सधैँ निराश नै हुन्थ्यो । किनभने पत्रिकामा प्रायः निराशाकै खबर छापिन्थ्यो । 

आज भने केही फरक भयो । उसले खोजेको एउटा आशा भेट्टायो पत्रिकामा । पत्रिकामा देशका प्रधानमन्त्री र केही मन्त्रीको सम्पत्ति विवरण छापिएको थियो । त्यो खबर पढेर ऊ त्यसै त्यसै खुसी भयो । उसको निराश मन त्यसै त्यसै प्रफुल्ल भयो । 

खुसीले गद्गद् हुँदै ऊ घरतिर हिँडिरहेको थियो । हिँड्दाहिँड्दै एउटा रक्सी पसलको अगाडि पुगेर ऊ टक्क रोकियो । त्यहाँ उसले थरी थरी ब्रान्डका रक्सीका बोतलहरू देख्यो । खुसीको उत्सव मनाउन एक बोतल रक्सी उसलाई पनि किनूँ किनूँ लाग्यो । 

उसले खल्ती छाम्यो । खल्तीमा केही पैसा रहेछ । गनेर हे¥यो । एक बोतलसम्म किन्न पुग्ने रहेछ । उसले एक बोतल रक्सी किन्यो । पसलेले रक्सीको बोतललाई कागजले बेरबार पारेर प्लास्टिकको झोलामा हालेर दियो । 

ऊ झोला बोकेर मनमनै खुसी हुँदै घरतिर लाग्यो ।

उसको हातमा कागजले बेरबार पारेको पोको देखेर उसकी श्रीमतीले छक्क पर्दै सोधी, “के हो यो ?”

“रक्सी,” उसले रक्सीको बोतल टेबुलमा राख्दै भन्यो । अघि छक्क मात्रै परेकी उसकी श्रीमती अब तीनछक्क परी । भात खान समस्या भइरहेको बेलामा रक्सी खाने लोग्नेको पारा देखेर उसलाई मनमनै रिस पनि उठ्यो ।

“आज म सारै खुसी छु । यो खुसीमा आज उत्सव मनाउने मन भयो । त्यसैले यो रक्सीको बोतल बोकेर आएँ,” उसले रक्सी बोकेर आउनुको कारण यसरी बतायो ।

उसकी श्रीमती चकित परेर उसलाई हेर्न थाली । उसले मन नलागी नलागी एउटा अन्डा तारेर प्लेटमा हाली । अनि गिलासमा आधा रक्सी हालेर लोग्नेको हातैमा थमाइदिई । लोग्ने किन खुसी भयो भन्ने जान्ने उत्सुकताले ऊ अधीर बनी । उसले उत्सुकतापूर्वक नै सोधी, “खुसी चाहिँ किन हुनुप¥यो नि ?” 

एक घुट्को रक्सी निल्दै उसले भन्यो, “मैले समाचारमा पढेको, हामी त हाम्रो देशको प्रधानमन्त्रीभन्दा पनि धनी रहेछौँ । यसकारण आज म खुसी भएँ ।”

सुनेर उसकी श्रीमतीले मुख बिगारी । बुढा बहुलाए कि मसँग ठट्टा गर्दै छन् भन्ने सोचेर उसले लोग्नेको मुख नियालेर हेरी । “प्रधानमन्त्रीसँग जम्मा एक कट्ठा जग्गा र तीन तोला सुन मात्रै रहेछ । हामीसँग त तीन कट्ठा जग्गा र पाँच तोला सुन छ,” उसले खुसी हुनुको थप कारण खुलायो ।

आर्थिक मन्दीको परिणामस्वरूप अप्रत्याशित रूपमा जागिर गुमाएर बेरोजगार हुनुपर्दाको पीडा र घरव्यवहारको समस्याले ऊ तनावमा थियो । त्यही तनावले अब चाहिँ ऊ खुस्किनै लाग्यो भन्ने सोचेर उसकी श्रीमती थचक्क भुइँमा बसेर सुँक्क सुँक्क गर्न थाली ।

त्यो त्यही पत्रिको हो; जुन पत्रिकामा देशका कर्मचारी, नेता, मन्त्री र प्रधानमन्त्रीले नीतिगत भ्रष्टाचार गरे भनेर ठुल्ठुला अक्षरमा समाचार छापिन्थ्यो । फलानाले यति खायो, ढिस्कानाले उति खायो, फलानाले जमिनमा पैसा गाड्यो र ढिस्कानाले पानी ट्याङ्कीमा पैसा लुकायो भनेर पनि समाचार छापिन्थ्यो । भ्रष्टाचारको समाचार नछापिएको कुनै दिन हुँदैनथ्यो । भ्रष्टाचार कर्मचारी, नेता, मन्त्री र प्रधानमन्त्रीको पर्यायवाची शब्द नै बनिसकेको छ ।

हिजो गाउँबाट चप्पल पड्काउँदै सहर छिरेका नेताहरूको हैसियत बढेर आकाश छोएको छ । सहरको गल्लीमा एउटा कोठा भाडामा लिएर बस्ने नेताहरू बङ्गला, कार, जग्गाजमिनलगायत प्रशस्त धनसम्पत्तिका मालिक भएका छन् । सामन्तको विरोध गर्दै सर्वहारा वर्गको पक्षमा चर्को आवाज उठाउने नेताहरू अहिले आफैँ सम्भ्रान्त र नवसामन्त बनेका छन् । यी विषयमा पनि त्यो पत्रिकामा समाचार छापिएकै छन् ।

हेर्दाहेर्दै आफूसरहका साथीहरूको जीवनशैली फेरिएको देखेर ऊ कहिलेकाहीँ हीनताबोध गथ्र्यो । लघुताभास हुन्थ्यो उसलाई । साथीहरूका अगाडि खुम्चिन्थ्यो र खुलेर बोल्न पनि डराउँथ्यो । खुलेर हाँस्न पनि डराउँथ्यो । जीवनशैली फेरिएका साथीहरूसँग आँखा जुधाएर बोल्ने हिम्मत पनि हराएको थियो उसको । तर ऊ आफ्नो स्वाभिमानमा अडिग थियो । त्यही स्वाभिमानले उसलाई आफू गरिब भएको कहिल्यै महसुस हुन दिएन । बरु ऊ गर्व गथ्र्यो आफ्नो स्वाभिमानप्रति ।

स्वाभिमानले जतिसुकै छाती चौडा भए पनि आफूभन्दा फरक साथीभाइसँग भेट हुँदा मनमा अलिकति च्वास्स त भई नै हाल्थ्यो । यही च्वास्सको अनुभूतिले गर्दा उसको अनुहारको भाव अर्कै हुन्थ्यो । मनको तरङ्ग अर्कै हुन्थ्यो । साथीहरूका अगाडि भित्रभित्रै खुम्चिन्थ्यो उसको मन । त्यो खुम्चिएको मनबाट खुलेर आवाज निस्किँदैनथ्यो । उसको बोली नै कम हुन्थ्यो र उसको बोली नै सानो हुन्थ्यो । 

भेटघाट र जमघटमा साथीभाइले अलिकति पिलाएपछि बल्ल उसलाई बोल्ने हिम्मत आउँथ्यो । अनि ऊ जसले उसलाई रक्सी पिलायो, उसैको बारेमा नकारात्मक कुरा गथ्र्यो । साथीलाई घुस खाएर धनी भइस् भन्थ्यो । पदको दुरुपयोग गरिस्, देश र जनताप्रति गद्दारी गरिस् भन्थ्यो । अनि साथी रिसाउँथ्यो र भन्थ्यो, “गद्दार त तँ आफैँ होस्, जसलाई नुनको सोझो गर्न पनि आउँदैन । जसले तँलाई पिउन दियो, पिइसकेपछि उसैका बारेमा नानाभाँती कुरा गर्छस् ।”

अनि ऊ साथीसँग झगडा गथ्र्यो । उसको यस्तै बानीले उसका साथीहरू टाढा हुँदै गए, घट्दै गए । उसको मनमा निराशा र कुण्ठा चाहिँ बढ्दै गयो । साथीहरू कहाँबाट कहाँ पुगे । ऊ जहाँको तहीँ रह्यो । साथीहरू के के भए, ऊ जस्ताको तस्तै रह्यो । उसको समय नसुहाउँदो स्वाभिमानले उसलाई सबैबाट अलग बनायो । भिडमा पनि एक्लो बनायो । ऊ एकलकाँटे भयो ।

उसले कमाउन नसकेकोमा उसकी स्वास्नी असन्तुष्ट थिई । छोराछोरी असन्तुष्ट थिए । छरछिमेकमा सबैले आआफ्नो हैसियत बनाए र बढाए । उसको न हैसियत बन्यो, न त बढ्यो । ऊ हिजो शान्तराम थियो । आज पनि शान्तराम नै रह्यो । उसका साथीहरू विकासबाट साहु विकास भए । दीपकबाट हाकिम दीपक भए । नवराजबाट नेता नवराज भए । हरिरामबाट मन्त्री हरिराम भए । टोल र छरछिमेकमा हिजोसम्म अपरिचितहरू पनि क्रमशः समाजमा परिचित हुँदै गए । ऊ भने परिचितबाट क्रमशः अपरिचित हुँदै गयो । 

अनि उसको नाम शान्तराम भए पनि ऊ अशान्त हुँदै गयो । उसको मनमा अशान्ति मच्चिन थाल्यो । त्यो अशान्त मनले सधैँ कुण्ठा, निराशा र विद्रोह मात्रै बोल्न थाल्यो । उसको यस्तो बानीले उसका साथीहरूले उसलाई छुच्चो भन्न थाले । उसको छुच्चो मुखले कतिखेर आफ्नो पोल खोल्छ भनेर उसका साथीहरू डराउन थाले र ऊबाट टाढा टाढा हुन थाले । अनि ऊ क्रमशः एक्लो हुन थाल्यो ।

साथीभाइबाट एक्लिएको एकलकाँटे बाबुसँग छोराछोरी पनि टाढिन थाले । समय नसुहाउँदो स्वाभिमान बोकेर बसेको गरिब बाबुको सन्तान भएर बाँच्नुपर्दा उसका छोराछोरीलाई पनि हीनताबोध हुन्थ्यो । लघुताभास हुन्थ्यो । आफ्ना साथीभाइका बाइक र कार छन् । आफू चाहिँ लखरलखर हिँड्दै सार्वजनिक बस चढेर कलेज जानुपर्दा उनीहरूलाई सधैँ लघुताभासले थिच्थ्यो । न ऐना हेरी हेरी गुनगुनाउन पाउनु, न त फेरी फेरी लुगा लाउन पाउनु । मनमा सधैँ कुण्ठाको बास हुन्थ्यो । साथीहरू जन्मदिनको उत्सव मनाउँछन् । उनीहरूचाहिँ जन्मदिनलाई पनि लुकाएर बस्न बाध्य छन् । आफूहरूलाई यस्तो स्थितिमा राखिरहने बाबुप्रति उनीहरूको मनमा असन्तुष्टि र आक्राेश छ तर बाबुसँग झगडा गर्न सक्दैनन् । बरु बाबुको सामीप्यबाट टाढा भएर बस्न खोज्छन् । बाबुसँग दोहोरो बोलचाल पनि हुँदैन । यस्तो परिस्थितिको सिकार हुन्छे उसकी श्रीमती । बाबु र छोराछोरीको बोलचालसमेत नहुँदा पिरोलिएकी आमाको पीडा छोराछोरीले जान्दाजान्दै पनि केही गर्न सक्दैनन् । बरु आफैँ पिरोलिन्छन् र बाबुलाई मनमनै गाली गर्छन् ।

एकालकाँटे हुँदा हुँदा हिजोआज उसको मनोदशा नै परिवर्तन भएको छ । एक्लै टोलाउने र एक्लै बोल्ने बानी पनि सुरु भएको छ उसको । होस हराए जस्तै हुने गरेको छ कहिलेकाहीँ । तैपनि उसले आफूलाई समाल्ने प्रयास गर्दै आएको छ । पहिलादेखि पत्रपत्रिका पढ्ने उसको बानी भने अहिले पनि कायम छ । पत्रिका पसलमा उभिएरै भए पनि पत्रिकाको मुख्य समाचार पढी भ्याउँछ ऊ । आज पनि पत्रिका पसलअगाडि उभिएरै पढी भ्यायो उसले पत्रिका ।

केही दिनदेखि उसको क्रियाकलाप अलि असामान्य हुँदै गएको महसुस गर्दै थिई उसकी श्रीमती । रेडियो सुनेर, टिभी हेरेर र पत्रिका पढेर उसले दिने प्रतिक्रिया सुनेर उसकी श्रीमतीलाई अनौठो लाग्न थालेको थियो । कहिले एक्लै खुसी भएर हाँसे जस्तो गर्ने । कहिले चाहिँ रिसाए जस्तो गर्ने । अनि त्यो रिस जहाँ पायो त्यहीँ पोख्ने । कहिले भाँडाकुँडामाथि त कहिले श्रीमतीमाथि । केही बिराम नगर्दा पनि उसकी श्रीमतीले गाली खानु परेको थियो । कहाँको रिस कहाँ पोखेको होला भन्दै उसकी श्रीमती पिरोलिन्थी । उसको प्रतिक्रियाले लोग्नेको मनोदशा थप प्रभावित हुने हो कि भनेर ऊ चुप लागिदिन्थी । उसको आजको अचम्मलाग्दो व्यवहार देखेर उसकी श्रीमती अवाक् बनी । देशको प्रधानमन्त्रीको हैसियतसँग आफूलाई दाँजेको उसकी श्रीमतीलाई फिटिक्कै मन परेको थिएन । कहाँ देशको प्रधानमन्त्री ! कहाँ सेवानिवृत्त एउटा मामुली जागिरे मान्छे अर्थात् जनता तर उसले केही प्रतिक्रिया जनाइन । बरु लोग्नेको मनोदशा असन्तुलित हुँदै गएकोमा उसलाई पिर पर्न थाल्यो । 

प्रधानमन्त्रीभन्दा आफू धनी भएको भन्दै खुसी भएको उसको अनुहारमा एकैछिनमा चिन्ताका रेखाहरू सल्बलाए । उसको अनुहारको रङ बदलियो । आँखा रसिलो भयो । अनि आँखाको दहमा जमेको आँसु बिस्तारै डिल नाघेर बग्न थाले । अनि आँखाको डिलबाट बगेको त्यो क्षणिक खुसीको आँसुले उसको मनमा भतभती पोल्न थाल्यो ।

उसलाई हेरिरहेकी उसकी श्रीमतीले मनमनै सोची– अब चाहिँ बुढा साँच्चै खुस्किए ।