• ९ पुस २०८१, मङ्गलबार

‘नेपाली पत्रकारितामा मालिकहरुको रजगज छ’

blog

वरिष्ठ पत्रकार किशोर नेपाल अन्तरक्रिया कार्यक्रममा धारणा राख्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर ७ गते । वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष किशोर नेपालले नेपाली पत्रकारितामा अझै मालिकहरुको रजगज रहेको बताउनुभएको छ । 

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभाग अन्तर्गतको दर्शनाचार्यमा अध्ययनरत विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रममा शुक्रबार उहाँले सो कुरा बताउनुभएको हो ।

पत्रकारिता क्षेत्रमा नेपालले फडको मारेको चर्चा गरिरहँदा यसको आन्तरिक पाटो मालिकहरुको पक्षपोषणमा पत्रकारिता रहेको उहाँको भनाइ छ । पत्रकारिताको अँध्यारो र उज्यालो पक्ष दुवै भए पनि नेपाली पत्रकारितालाई राजनीतिले गाँजेको उहाँले टिप्पणी गर्नुभयो । नेपाली पत्रकारिताको विकास रोचक ढंगले अझै भइनसकेको उहाँको बुझाइ छ ।


कार्यक्रममा वरिष्ठ पत्रकार किशोर नेपाल, विभागका प्रमुख डा. कुन्दन अर्यालसहित विद्यार्थी । तस्विरः कुमारसिंह विष्ट 

नेपाली पत्रकारितालाई मर्यादित र विश्वसनीय बनाउन विभिन्न कानुनहरु निर्माण गरिए पनि कानुनले पत्रकारलाई सहयोग गर्न नसकेको उहाँले बताउनुभयो । नेपाली मिडियामा अझै दक्ष जनशक्तिको अभाव रहेको उहाँको बुझाइ छ । अन्य देशमा सरकार आफैले मिडिया सञ्चालन नगरे पनि नेपालमा सरकारले मिडिया सञ्चालन गर्ने गरेको उहाँले टिप्पणी गर्नुभयो । 

नेपालमा अझै न्यूजपेपर अध्ययन गर्ने कल्चर बस्न नसकेको चर्चा गर्दै वरिष्ठ पत्रकार नेपालले नेपाली पत्रकारिताको कन्टेन्ट शहरमुखी भएको बताउनुभयो । गाउँमुखी पत्रकारिता भएमात्र जनताको हित हुने उहाँले चर्चा गर्नुभयो । नेपाली मिडियाको नियमन गर्ने निकाय नेपाल प्रेस काउन्सिलको हातगोडा पनि शिथिल रहेको उहाँले टिप्पणी गर्नुभयो । 

अध्ययनशील र राम्रो लेख्ने पत्रकारलाई लेख्ने फोरम निर्माण भए पनि लेखेरै घरखर्च चलाउन सक्ने लेखक निकै कम रहेको उहाँले चर्चा गर्नुभयो । नेपाली पत्रकारिता चुनौतीले भरिएको भए पनि त्यसलाई अवसरमा बदल्नेगरी काम हुन नसकेको उहाँको भनाइ छ । नेपाली पत्रकारितामा निजी स्वार्थ रहेको र राजनीतिक दल र उद्योगीले समेत मिडियामा लगानी गरेर आफ्नो स्वार्थ पूरा गर्नेगरेको उहाँले चर्चा गर्नुभयो । 


सो अवसरमा पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्याल, दर्शनाचार्य दोस्रो सेमेस्टरका विद्यार्थीको सहभागिता थियो । विभागले गत कात्तिक ३० गतेदेखि मिडिया टक सेरिज सुरु गरेको छ । वरिष्ठ पत्रकार तथा विज्ञ पत्रकारलाई अन्तरक्रियाका लागि अतिथिको रुपमा विभागमा ल्याएर नेपाली पत्रकारिताको हिजो, आज र भोलिको पाटोबारे वहस गराउने गरिएको छ ।