• ११ पुस २०८१, बिहिबार

अन्तरप्रदेश सडक प्राथमिकतामा

blog

बुलबुले समाचारदाता

सुर्खेत, मङ्सिर ७ गते । कर्णाली प्रदेश सरकारले अन्तरप्रदेश सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर अन्तरप्रदेश सडक निर्माणलाई निरन्तरता दिएको हो ।

प्रदेशमा चार स्थानमा अन्तरप्रदेश सडक निर्माणका काम भइरहेका छन् । उक्त सडक निर्माणको कामलाई निरन्तरता दिन प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । अन्तरप्रदेश जोड्ने सडकलाई प्राथमिकतामा राखी निर्माण कार्य अघि बढाइने प्रदेश सरकारले जनाएको छ । उक्त सडक अन्तर्गत मुलपानी–रानीघाट, तेलपानी भुरीगाउँ सडक, कालीकोट, लालु, लैफू–कोटबाडा, रास्कोट, रामारोशन सडक, रारा, सेरी सुकाढिक, धुराचौर बाजुरा सडक, सल्यान खलङ्गा, कालीमाटी, घुइयाँबारी काप्रेचौर, खर्कवार कोहलपुर सडक स्तरोन्नतिको काम गरिने छ । 

यो वर्ष सरकारले अन्तरप्रदेश सडक निर्माण योजनालाई प्राथमिकतामा राखेको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा ३९ करोड बजेट विनियोजन गरिएको छ ।

तेलपानी–भुरीगाउँ सडक विस्तार

सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडक निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । चालु आवमा प्रदेश सरकारले सडक निर्माणको काम अघि बढाउन आठ करोड बजेट विनियोजन गरेको छ ।

कर्णाली र लुम्बिनी प्रदेश जोड्ने मूलपानी–रानीघाट–तेलपानी भुरीगाउँ सडक निर्माणलाई प्राथमिकताका साथ राखेको हो । यो सडक आयोजना नयाँ भने होइन । प्रदेश सरकारले आव २०७५/७६ देखि सडक निर्माण योजना अघि बढाएको हो । सडक निर्माणको काम भने आव २०७६/७७ देखि सुरु गरियो । दुई खण्डमा विभाजन गरेर सडक निर्माणको काम अघि बढाइएको भए पनि अहिलेसम्म निर्माणको काम सम्पन्न भएको छैन । सरकारले यो वर्ष पर्याप्त बजेट विनियोजन गरेर सडक निर्माणको कामलाई सम्पन्न गर्न लागेको हो ।

कालीकोट–लालु–रामारोशन सडक

अन्तरप्रदेश सडक निर्माण अन्तर्गत कालीकोटमा सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ । कालीकोट, लालु, लैफु–कोटवाडा, रास्कोट, रामारोशनसम्म सडक निर्माण गर्न लागिएको हो । गत आवमा ठेक्का सम्झौता गरी काम अघि बढाइएको छ । अहिले सडक स्तरोन्नतिको काम धमाधम भइरहेको पूर्वाधार विकास कालीकोटले जनाएको छ । २०८० माघ २४ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको थियो । २०८३ असार २४ गतेसम्म निर्माणको काम गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । उक्त सडकखण्ड अन्तर्गत सात किलोमिटर सडक स्तरोन्नति गरिने कार्यालय प्रमुख हरि शर्मा धितालले बताउनुभयो । सात किलोमिटर स्तरोन्नतिको काम ७३ प्रतिशत भएको छ भने वित्तीय प्रगति ६९ प्रतिशत भएको छ ।

सल्यान–कोहलपुर सडक

अन्तरप्रदेश सडक निर्माणको काम धमाधम भइरहेको पूर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ । सल्यान खलङ्गा, कालीमाटी, घुइयाँबारी काप्रेचौर, खर्कवार कोहलपुर सडक स्तरोन्नतिको काम भइरहेको कार्यालय प्रमुख नवीन थापाले बताउनुभयो । २०८१ जेठ १५ मा ठेक्का सम्झौता गरिएको हो । २०८३ असार १५ गतेसम्म सडक स्तरोन्नति गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । सडक स्तरोन्नतिको १६ प्रतिशत काम सकिएको छ भने १० प्रतिशत वित्तीय प्रगति भएको छ ।