फडिन्द्र अधिकारी
लेखनाथ, मङ्सिर ६ गते । गन्धर्वका कथा, व्यथा समेटिएको ‘पूर्णबहादुरको सारङ्गी’ चलचित्रले हल र जनजीवनमा चर्चा पाएकै बेलामा सारङ्गी र गन्धर्व जातिलाई नै पहिचान दिलाउने झलकमान गन्धर्वको स्मृति दिवससमेत परेको छ । १९९२ वैशाख १२ गते पोखराको बाटुलेचौरमा जन्मिनुभएका उहाँको २०६० मङ्सिर ६ गते निधन भएको थियो ।
कर्खा, माँगल गाउँदै हिँड्ने गन्धर्वहरू अहिले हम्मेसी देखिँदैनन्, बरु गैरगन्धर्वले सारङ्गी सिक्न थालेका छन् । कालीखोला किनारको बाटुलेचौरसहित कास्कीमा अहिले २५ जना मात्रै परम्परागत गन्धर्व पेसा गर्ने छन् । पछिल्लो समय कोही वैदेशिक रोजगारीमा गएका छन् भने धेरैले मजदुरी र अरू काम गर्न थालेका छन् ।
झलकमानले गाएका सयौँ गीतमध्ये सबैभन्दा चर्चित रह्योः “आमाले सोध्लिन् नि खोइ छोरा भन्लिन् ।” सारङ्गी र अर्बाजोमा गाइएको यो गीतले यस्तो लोकप्रियता हासिल ग¥यो कि गन्धर्वलाई नै परिचित गराउने माध्यम बन्यो ।
यो गीतको संयोग पनि अनौठो छ । २०२३ सालमा ‘आत्मा बेचेको छैन’ नाटकमा यो गीत राखिएको थियो । मञ्चनका दिन पहिले गाउने तय गरिएका दुर्गाबहादुर मिजार बिरामी परेपछि छोरा झलकमानले बाकै जसरी यो गीत अर्बाजोको लयमा सारङ्गी रेट्दै सुनाउनुभएको थियो ।
नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव तीर्थ श्रेष्ठ समाज र राज्यले उचित ध्यान पुर्याउन नसक्दा एउटा जातिको संस्कृति र सभ्यता नै सङ्कटमा पर्दै गएको बताउनुहुन्छ । “गीत सुनाएरै जीवन चलाउने गन्धर्वलाई सम्मानित जीवनयापनको वातावरण बनाउनेतिर हाम्रो ध्यान गएन, स्थानीय सरकार, प्रज्ञा–प्रतिष्ठानको पनि प्रयत्न देखिएन,” उहाँले भन्नुभयो । एकाधले सारङ्गी, अर्बाजो सिकेर स्टेज, कार्यक्रमतिर काम पाए पनि गन्धर्वको अवस्था नाजुक छ ।
कास्कीमा करिब एक हजार गन्धर्वको बसोबास छ । झलकमान गन्धर्व सारङ्गी सङ्गीत पाठशालाका अध्यक्ष दिलीप गायक पाठशालाबाट पाँच सयभन्दा बढीले सारङ्गी सिकिसकेको उल्लेख गर्नुहुन्छ । त्यसबाहेक झलकमान र गन्धर्व समुदायको उत्थानका लागि धेरै काम गर्न बाँकी रहेको उहाँ औँल्याउनुहुन्छ ।
लोकसंस्कृतिविद् डा. तुलसी प्रवास समाजको हेय दृष्टिकोण र आर्थिक कारणले गन्धर्वले परम्परागत पेसा छाड्न थालेको बताउनुहुन्छ । कास्कीका गन्धर्वबारे अनुसन्धानसमेत गर्नुभएका उहाँ भन्नुहुन्छ, “नयाँ पुस्ताले सधैँ मागेर खान चाहँदैन, केही नयाँ गर्न चाहन्छ । राज्य र समाजले उनीहरूलाई सघाउनु पर्छ ।”
नौ वर्षमै मातृवियोग सहनुभएका झलकमान किशोर नहुँदा बाबुसँगै सारङ्गी बोकेर गाउँबेँसी घुम्नुहुन्थ्यो । झलकमानले करिब साढे दुई सय गीत गाएको भए पनि एक दर्जन जति मात्र उपलब्ध छन् । एकातिर उहाँका गीत संरक्षित भएनन् भने अर्कातिर सारङ्गी र गन्धर्वको पेसा नै सङ्कटमा पर्दै गएको छ । अग्रज लोकगायिका हरिदेवी कोइराला संरक्षणको दायित्व राज्यले लिनुपर्ने विचार राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “झलकमानको योगदान पछिल्लो पुस्तालाई चिनाउनु पर्छ, गन्धर्व संस्कृति जोगाउनु पर्छ । नत्र झलकमानले भन्लान् नि खोइ सारङ्गी भन्लान् भन्ने खालको अवस्था आउँछ ।”