अमरराज नहर्की
तनहुँ, मङ्सिर ५ गते । जाडो मौसम सुरु भए पनि तनहुँमा डेंगु सङ्क्रमण कायमै छ । डेंगुको सङ्क्रमण दश वटै पालिकामा फैलिरहेको छ । जिल्लामा पाँच हजारभन्दा बढीमा डेंगुकाे सङक्रमण पुष्टि भइसकेको छ ।
डेंगुबाट सहरी क्षेत्र बढी प्रभावित भएको छ । डेंगुको सङ्क्रमणबाट एक जनाले ज्यान गुमाएका छन् । व्यास नगरपालिका–७ का ५० वर्षीय पुरुषले भदौमा ज्यान गुमाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
चालु आर्थिक वर्षमा हाल सम्ममा जिल्लामा पाँच हजार एक सय ८० मानिसमा डेंगु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो । सङ्क्रमण बढेसँगै अस्पतालहरूमा विरामीको चाप बढेको अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार सबैभन्दा धेरै व्यास नगरपालिकामा सङ्क्रमण फैलिएको छ ।
व्यासमा दुई हजार ४५ जनामा सङ्क्रमण भएको छ । त्यसपछि आँबुखैरेनी गाउँ पालिकामा धेरै विरामीमा छन् । आँबुमा एक हजार सात सय ३७ जना बिरामी भएका छन् । शुक्लागण्डकी नगरपालिकामा आठ सय ७९ जना बिरामी भएका छन् ।
बन्दीपुर गाउँपालिकामा एक सय ८९ जना र भिमाद नगरपालिकामा ९८ जनामा सङ्क्रमण भएको छ । भानु नगरपालिकामा ४८, म्याग्दे गाउँपालिकामा ४५ जनामा सङ्क्रमण भएको छ । ऋषिङ गाउँपालिकामा पाँच, घिरिङ गाउँपालिकामा छ, देवघाट गाउँपालिका ८९ जनामा सङ्क्रमण भएको छ ।
अन्य जिल्ला घर भइ तनहुँमा बसोबास गर्ने ३० जनामा सङ्क्रमण भएको छ । लामखुट्टेले फुल पार्ने ठाउँमहरु ‘‘खोजौँ र नष्ट गरौँ’’ भन्ने नारासहित जिल्लाको सबै पालिकामा अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । सङ्क्रमण तीव्र गतिमा फैलिएपछि रेडक्रसले समेत डेंगु रोगविरुद्धको अभियान गरिरहेको छ ।
जोगिनका लागि सुत्ने समयमा झुलको प्रयोग, पूरा बाउला भएको कपडा प्रयोग गर्ने तथा घर वरिपरि पानी जम्न नदिन चिकित्सकले सुझाव दिएका छन् । लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको व्यास नगर अस्पतालको प्रमुख डा. नवीना न्यौपाने बताउनुहुन्छ । डेंगुको सङ्क्रमण एडिज जातिको लामखुट्टेबाट मात्र फैलिने, सफा पानीमा फुल पार्ने, लार्भा हुर्काउने भएकाले पानी जम्न नदिएर वासस्थान ध्वस्त बनाएर लामखुट्टेलाई नष्ट गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
न्यौपानेका अनुसार बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु डेंगुको लक्षण हो ।