• १४ वैशाख २०८१, शुक्रबार

अछामका पालिका प्रमुखमा काँग्रेस, वडामा एमाले अगाडि

blog

शिवराज ढुंगाना 

मंगलसेन, जेठ ३ गते । स्थानीय तह निर्वाचन अन्तर्गत अछामका सात स्थानीय तहमा मतगणाना सम्पन्न भएको छ । नेपाली काँग्रेसले पाँच स्थानीय तहको नेतृत्वमा विजयी भएको छ भने नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रले एक एक स्थानीय तहको नेतृत्वमा विजय प्राप्त गरेका छन् ।  

एमालेले तुर्माखाँद गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ । मेल्लेख गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र अध्यक्ष र काँग्रेस उपाध्यक्षमा विजय हासिल गरेको छ । मेल्लेखमा माओवादी–काँग्रेस र एमाले–समाजवादी चुनावी गठबन्धन रहेको थियो । नेपाली काँग्रेसले चौरपाटी र ढकारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको छ ।

चौरपाटीमा समाजवादी–माओवादी चुनावी गठबन्धन थियो । बान्नीगढी जयगढ गाउँपालिकामा काँग्रेस अध्यक्ष र एमाले उपाध्यक्ष, रामारोशन गाउँपालिकामा काँग्रेस अध्यक्ष र माओवादी केन्द्र उपाध्यक्ष र कमलबजार नगरपालिकामा प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । बान्नीगढी जयगढ गाउँपालिकामा काँग्रेस–माओवादीमा, रामारोशनमा काँग्रेस–समाजवादी चुनावी गठबन्धन थियो । स्थानीय तहको प्रमुख र उपप्रमुखमा पराजित भएका सबै स्थानीय तहमा नेकपा (एमाले) दोस्रो भएको छ ।

मतपरिणाम सार्वजनिक भएका वडामध्येमा एमालेले २८ वडा, काँग्रेसले २५ वडा र माओवादी केन्द्रले पाँच वडा, समाजावादीले तीन र दुई स्वतन्त्र वडा अध्यक्षमा निर्वाचित भएका छन् । तुर्माखाँद गाउँपालिकामा काँग्रेस पाँच, एमाले दुई र माओवादीले एक वडामा विजय निकालेको छ । 

मेल्लेख गाउँपालिकामा एमाले तीन, काँग्रेस दुई, माओवादी, समाजवादी र स्वतन्त्रले एक एक वडामा विजयी भएका छन् । चौरपाटी गाउँपालिकामा काँग्रेस चार र एमाले तीन वडामा वडा अध्यक्षमा निर्वाचित भएको छ । रामारोशन गाउँपालिकामा माओवादी तीन, एमाले र काँग्रेस दुई दुई वडामा विजयी भएका छन् । बान्नीगढी जयगढ गाउँपालिकामा काँग्रेस तीन, एमाले दुई र माओवादी केन्द्र एक वडामा निर्वाचित भएका छन् । 

यस्तै कमलबजार नगरपालिकामा एमाले सात, काँग्रेस दुई र एक स्वतन्त्र वडा अध्यक्षमा विजयी भएका छन् । ढकारी गाउँपालिकामा काँग्रेस चार, एमाले र समाजवादी दुई दुई वडामा निर्वाचित भएका छन् । १४ वडा रहेको मंगलसेन नगरपालिकामा मतगणना जारी रहेकोमा १० वडामा मतपरिणामअनुसार एमाले सात र चार वडामा काँग्रेस विजयी भएको छ । १४ वडा रहेको साँफेबगर नगरपालिकाका र १० वडा रहेको पञ्चदेवल विनायक नगरपालिकामा मत गणना हुन बाँकी छ । 

पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटी र साँफेबगर नगरपालिका–१३ बाब्लामा मतदानका क्रममा शुक्रबार झडपका कारण पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्देशन दिइसकेको छ । लयाँटीमा आज मंगलबार मतदान भएर रातीबाट नै मतगणना गर्ने तयारी छ भने बाब्लामा शुक्रबार मतदान हुने भएको छ ।