• २८ पुस २०८१, आइतबार

एक सय ३२ प्रभावितलाई सहयोग प्रदान

blog

जुगल, भोटेकोशी, बलेफीका पहिरो प्रभावितलाई राहत वितरण गरिँदै । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, मङ्सिर ३ गते । 
गत असोज ११ र १२ गतेको अविरल वर्षातपछि आएको बाढीपहिरोले घरबास र परिवारका सदस्य गुमाएका प्रभावितलाई नगद र जाडोको न्यानो कपडा प्रदान गरिएको छ । सिजल एण्ड स्टिर फाउण्डेसनले सोमबार सिन्धुपाल्चोकका एक सय ३२ परिवारमध्ये पहिरोबाट मृतक परिवारलाई १० हजार र विस्थापित परिवारलाई ब्ल्याँकेट राहत प्रदान गरेको हो ।

सिन्धुपाल्चोक समाज नेपालका अध्यक्ष थुप्तेन ग्याल्बो लामाको पहलमा र समन्वयमा उक्त नगद र सामग्री वितरण गरिएको हो । पहिरोमा परेर ज्यान गुमाएका जुगल गाउँपालिका–४ का चार जना मृतक परिवारलाई जनही १०/१० हजारका दरले र उक्त स्थानका पहिरो प्रभावितहरूलाई ४० वटा ब्ल्याँकेट वितरण गरिएको लामाले जानकारी दिनुभयो ।

त्यस्तै, भोटेकोशी गाउँपालिकामा पहिरोबाट मृत्यु भएका एक जना परिवार, एक सुत्केरी महिला, एक अपाङ्गता भएका अशक्तलाई जनही १०/१० हजार र थामी, दलित, जनजाति, आदिवासी, गरिब, विपन्न, एकल महिला लगायतलाई ६० थान ब्ल्याँकेट वितरण गरिएको अध्यक्ष थुप्तेनले बताउनुभयो । साथै बलेफी गाउँपालिकाका बलेफीका पहिरो पीडित, अति विपन्न समुदायलाई २७ थान ब्ल्याँकेट सहयोग गरिएको उहाँको भनाइ छ ।

असोज ११ र १२ गतेको वर्षातका कारण पहिरोले परिवारका सदस्य गुमाउन परेका र विस्थापित हुनु परेका पीडितलाई सामाजिक सङ्घसंस्थाले केही राहतका उपलब्ध गराई रहेपनि सरकारी तर्फबाट राहत र पुनः स्थापनाका काम नहुँदा प्रभावितहरूको अवस्था दयनीय बन्दै गएको छ ।