• ३ मंसिर २०८१, सोमबार

धर्म सङ्कट

blog

“सत्यराजजी तपाईं यति राति !? सबै कुशल त छ ? मेरो प्रश्नमा सत्यराजले भने, “कुशलता त अब तपाईंको हातमा निर्भर छ ।” मैले प्रतिप्रश्न गरेँ, “मेरो हातमा !?” 

हो दाजु ! गाउँ विकासका लागि जिल्ला जनस्वास्थ कार्यालयमा अनमी पदको एक स्थानका लागि निवेदन माग गरेको छ । त्यही गाउँ विकास समितिमा बसोबास गर्नेले मात्र निवेदन दिन पाउने नियम बनेको रहेछ । अहिलेसम्म दुई जनाको मात्र निवेदन परेको छ । पहाडमा बसेर गुजारा चलाउनु कति कठिन छ त्यो तपाईंबाट लुकेको छैन ।

मैले सत्य लुकाउनु उपयुक्त सम्झिइनँ र भनेँ “मसँग पहिले नै सम्पर्क गर्नुपर्ने थियो । मैले त एक जनालाई वचन नै दिइसकेँ ।”

मेरो कुरा सुन्नासाथ सत्यराजको अनुहार तताएको फलाम जस्तो रातो भएर आयो । मैले झटपट उनलाई सम्हालेँ र पानी पिउन दिएँ । सत्यराजले गिलासको पानी एक सासमा रित्याए ।

सत्यराजजी अब ठिक हुनुहुन्छ । मैले त साँचो कुरा भनेको हुँ । तपाईंले मेरो कुरालाई यति गम्भीरता साथ लिनुपर्ने के कारण प-यो ?

मलाई तपाईंको आर्थिक अवस्थाको जानकारी छ तर तपाईंकी श्रीमतीले निवेदन दिँदै हुनुहुन्छ भन्ने मैले कसरी थाहा पाउनु ?

मैले भनेँ, “मैले वचन दिएकी निशाको समस्या झनै पीडादायी छ । निशाले तपाईंकै विकट गाविसको गरिब केटासँग प्रेम विवाह गरेकी छ । वर्षमा चार महिना पनि खान पुग्दैन रे । निशाका बाबुआएका थिए । निशाका बाबुले मलाई भनेका थिए, “भाइ, म छोरीको कारणले ठुलो चिन्तामा परेको छुँ । छोरी भोकै मर्ने भई भनेर मेरी श्रीमती रोएको रोयै छ । मधेशमा हुर्किएकी छोरी पहाडमा कसरी निर्बाह गर्ली ? भाइ यो जागिर भयो भने कमसेकम भोकै त मर्ने थिइनँ ।”

मैले भनेँ, “मेरो पहुँचले काम गर्छ कि गर्दैन भन्न सक्दिनँ तर मेरो तर्फबाट म तपाईंकी छोरीको निमित्त सक्दो प्रयास गर्ने वचन दिन्छु ।” यसरी मबाट आश्वस्त भएर अध्यक्ष फर्किएका छन् । 

मेरो कुरा सुनेर सत्यराजले भने, “दाजु मसँग त बौलाउनुको विकल्प रहेन,” सत्यराजजी यो के भनेको ?”

सत्यराजले अत्यन्त भावुक हुँदै भने, “दाजु यो जागिरका निमित्त मेरी श्रीमतीले आफ्नो गर्भपतनसमेत गराएकी छन् ।”

सत्यराजको कुरा सुनेर मेरो मस्तिस्क झनन्न ग¥यो । मैले विस्मयका साथ सोधेँ, “के भनेको ? जागिरका लागि आफ्नै सन्तानको बलिदान ? किन ? सत्यराजले मलिन स्वरमा भने, विज्ञापनमै गर्भवती महिलाले निवेदन दिन नपाउने भनेपछि के गर्ने ? घरको आर्थिक अवस्था सुधार्ने अर्को विकल्प देखिएन त्यसैले । मबाट यो काम हुन सक्छ वा सक्दैन मसँग एक पटक सल्लाह नगरी यति कठोर निर्णय लिनु हुन्थ्यो त ?”

दाजु ! वास्तवमा तपाईंप्रतिको अति विश्वास नै हो जसले श्रीमती र मलाई गर्भपतन गराउने निर्णयमा पु-यायो ।

सत्यराजजी तपाईंको कार्यले मलाई पनि पीडामा पारिदियो ।

एकाएक जटिल बनेको निशा र सत्यराजको विषयले म भित्रबाटै विचलित भएको थिएँ । मैले निशालाई दिएको वचनबाट पछि हट्नु उचित हुँदैन थियो ।

यदि मैले उनलाई दिएको वचन पूरा गरिनँ भने उनीहरूको मप्रतिको विश्वास अविश्वासमा परिणत हुने पक्का थियो । म मेरो निर्वाचन क्षेत्रको स्थिति र निर्वाचनबारे जोड घटाउको जालोमा जेलिन पुगें ।

“सत्याराजजीलाई मैले भनेँ, “गर्भपतनको कुराले म भित्रैबाटै विचलित भएको छु । तपाईंले नगर्नु पर्ने काम गर्नुभयो ।”

मेरो कुरा सुनेर सत्यराजले भने, “दाजु भ्रूण हत्यालाई कानुनले मान्यता दिइसकेपछि हामीमाथि दोषारोपणको औचित्य सिद्ध हुँदैन । तपाईंले त बाध्यतावश गर्नुपरेको गर्भपतनलाई नै अस्त्र बनाई हामीविरुद्ध कानुन प्रयोग गर्न थाल्नुभए जस्तो लाग्यो ।”

सत्यराजले अगाडि भने, “दाजु यदि श्रीमतीको जागिर भएन भने भू्रणहत्याको दोषी हामी मात्र हुँदैनौँ । यसको दोषी त तपाईं पनि हुनुहुने छ । मेरी श्रीमती तपाईंको विश्वासमा त्यो जोखिम उठाउन तयार भएकी हुन् ।”

सत्यराजले मलाई नै अपराधी साबित गर्ने कुराले म त्यति चिन्तित थिइनँ । मेरो चिन्ताको विषय थियो यदि जागिर भएन भने, सत्यराज साँच्चिकै पासोमा थापिए भने के मैले आफूलाई माफ गर्न सकौँला ? नोकरीका लागि जसले गर्भ नै विसर्जन गर्न सक्छ, उसले जे पनि गर्न सक्छ । जनता सोझै सत्यराजको पक्षमा उभिने छन् । अहिले गाउँमा आलोचनाको विषय बनेको गर्भपतन रातारात सहानुभूतिमा परिणत हुने छ । 

माननीयले भोटको राजनीतिमा लागेर अध्यक्षको छोरीलाई नोकरी दिलायो भनेर मेराविरुद्ध नाराजुलस निस्केन छन् । 

मेरो चिन्तनलाई सत्य साबित गर्दै सत्यराजले भने, “दाजु म पासोमा झुन्डिएँ भने वा पागल भएँ भने त्यसको दोषी पनि तपाईं नै हुनुहुने छ ।”

म सोच्न थालेँ, नवीन पद्धति निर्माण गर्ने सङ्कल्पका साथ निर्वाचित हामी प्रतिनिधि कानुन बनाउने दायित्वभन्दा पृथक् कस्तो पद्धतितर्फ धकेलिँदै छौँ । जो हाम्रो वचनबद्धता नै होइन, हाम्रो काम नै होइन, त्यसैमा हाम्रो लोकप्रियताको आधार बनाइदिएका छन् । त्यसले के काम गर्ला ? त्यसलाई तपाईंहरूसँग कुनै मतलब छैन । खोला त¥यो लौरो बिर्सियो । खानुस् खुदो । खुब त्यसैको टिकटको वकालत गर्नु भाथ्यो । अरू त अरू आफ्नै भनाउँदाले चालेको चाल थाहा छ ? मतदाताका यस्ता जायज, नाजयज माग, आरोप प्रत्यारोपबाट पहिले नै थिलोथिलो परेको म राज्यराजले भ्रूणहत्याको नैतिक दायित्वसमेत थाप्लोमा थोपरिदिने चेतावनी दिएकोमा चकित थिएँ । 

सत्यराजजीहरू फर्किएपछि सोच्न थालेँ, “म निशा र उसको बाबुलाई दिएको वचनको पक्षमा उभिनुपर्ने हो तर फेरि सन्तान पनि गयो जागिर पनि भएन भन्ने घोर निराशाले रत्यराजको जीवनमा साँच्चिकै अर्को अनिष्ट जन्मायो भने त्यस समयमा मेरो मानसिकता कस्तो होला ? मतदाता र जनप्रतिनिधि बिचको विश्वास कायम राख्न पनि मेरो दायित्व होइन र ?

मैले एउटा निर्णय त लिनु नै थियो । निर्वाचन क्षेत्रमा पर्न सक्ने नकारात्मक प्रभावलाई बेवास्ता गर्दै म सत्यराजकी श्रीमतीको पक्षमा उभिने निधोमा पुगेँ ।

सत्यराजकी दुलहीको जागिर हुन नदिन मेरै साथीहरू लागेका पनि थाह छ । त्यसको अर्थ पनि बुझिएकै छ तर पनि सत्यराजकी दुलही जागिरे बनिन् । उता यही जागिरको पासोमा अडिएको निशाको सम्बन्ध छोडपत्रमा टुङ्गियो । स्वाभाविक थियो त्यसको दोष पनि मेरो थाप्लोमा नै थोपरिनुथियो ।

आमनिर्वाचनमा पार्टीभित्रका मेरा अन्तर्घाती साथीहरूले तिनै अध्यक्षलाई मेरोविरुद्ध बागी उम्मेदवार बनाए । सायद अध्यक्ष पनि मसँग प्रतिशोध लिने यो मौका गुमाउन चाहँदैन थिए । निर्वाचनको परिणाम मेरो पक्षमा आए पनि अध्यक्षँसगको सम्बन्ध गुमेको चिन्ता भने लामो समयसम्म रह्यो । पछुतो त झनै यस कुराको रह्यो कि उनले अनेक प्रयासमा पनि मलाई मेरो त्यो धर्मसङ्कटबारे अवगत गराउने मौका नै दिएनन् । मेरो बाध्यता थाहा पाउनुपूर्व नै अध्यक्षजी यस संसारबाट बिदा भइहाले । 


सत्य घटनामा आधारित तर पात्र काल्पनिक हुन् ।

लेखक पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता हुनुहुन्छ ।