स्वतन्त्रता सीमारहित हुँदैन । सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने स्वतन्त्रता हाम्रो अभीष्ट होइन । स्वतन्त्रता पनि उचित र अनुचितको परिभाषामा अनुबन्धित रहन्छ । अश्लील स्वतन्त्रता र सामाजिक मूल्यसहितको स्वतनत्रता पृथक् कुरा हो । हाम्रो समाज यदाकदा सीमारहित स्वतन्त्रताको पक्षधर बन्न खोज्छ त्यो ज्यादै जोखिमयुक्त स्वतन्त्रताको माग हो त्यसले स्वतन्त्रताको मानक स्थापना गर्दैन । स्वतन्त्रतालाई छाडातन्त्रसँग एकाकार गराउँछ ।
स्वतन्त्रताको अर्थ नेपाली बृहत् शब्दकोशमा यसरी परिभाषित गरिएको छ : ‘कुनै प्रकारको शासनिक बाधा, बन्धन आदि नभई उचित कार्य र व्यवहार गर्न पाउने अधिकार; स्वातन्यत्रय ।’ यसले उचित कार्य र व्यवहार गर्न पाउने अधिकार भनेर स्वतन्त्रतामा उचित शब्द पनि थपिदिएको छ । स्वतन्त्रता भनेको मनलाग्दी गर्न पाउने व्यवस्था नभएर योग्य र सुयोग्य सूचना पाउने नागरिकको हक हो । सबै सूचना र समाचार प्रसारण र प्रकाशनलायक हुँदैनन्, त्यसैले समाचार स्व्रिmनिङको योग्यता र आचरण आवश्यक हुन्छ ।
स्वतन्त्रताको निरपेक्ष अर्थ खोज्न थालियो भने स्वतन्त्रता मर्यादाहीन र अराजक हुन्छ । स्वच्छन्दता स्वतन्त्रता होइन । बेलगाम तरिकालाई स्वतन्त्रताको अर्थ भिराइयो भने समाज जसरी आज अराजक बनेको छ, त्यसरी नै बन्दै जाने छ । पाए जति सूचना बजारमा पठाउनु स्वतन्त्रताको दुरुपयोग हुन्छ । नियमको उल्लङ्घन हुन थालेपछि नियन्त्रण र नियोजनको विषय उठ्छ र कानुन आकर्षित बन्छ, त्यसैले हाम्रो प्रेसलगायत अन्य सामाजिक सञ्जालको स्वतन्त्रता नियन्त्रण उन्मुख बन्दै छ । नियमन र निषेध दुई फरक कुरा हुन् ।
मर्यादित स्वतन्त्रता आजको आवश्यकता बनेको छ । प्रेस स्वतन्त्रता, व्यक्तिगत स्वतन्त्रता र पारदर्शिताको नाममा जुन हदका निकृष्ट कार्य भएका छन्, हुने गरेका छन् तिनले प्रेस स्वतन्त्रताको खिल्ली उडाएका छन् । व्यक्तिगत स्वतन्त्रतालाई पुनः परिभाषित गर्नुपर्ने बनाएका छन् । स्वतन्त्रताको परिभाषामा अराजकता थपेका छन् । आमप्रबुद्ध मान्छेको चासो र स्वतन्त्रताको लडाइँ लडेकाहरूको चिन्ता अनि चर्चाको विषय अशिष्ट स्वतन्त्रताको विपक्षमा छ । शिष्ट मर्यादित र सापेक्षित स्वतन्त्रताको पक्षमा छ ।
स्वतन्त्रता सामाजिक नैतिकताको विषय हो । मानवीय, सभ्यता र शिष्ट अनुशासित समाजमा मर्यादित स्वतन्त्रताको अभ्यास गरिन्छ । वाक् स्वतन्त्रताको अर्थ, वाक् मर्यादा गुमाउनु होइन । मर्यादित स्वतन्त्रताको पक्षधर हुनु अधिकार र गौरवको विषय बन्छ । मर्यादित स्वतन्त्रताभित्र पत्रकारिताका आधारभूत सिद्धान्तहरू सन्निहित रहन्छन् । शुद्धता, सन्तुलन, विश्वसनीयता, शिष्टता, नैतिकता र स्वच्छता, त्यस्तै गरी व्यक्तिगत स्वतन्त्रताभित्र पनि मर्यादा, शिष्टता नैतिकता र अन्य पक्षको स्वतन्त्रता र स्वाभिमानमा आँच नपु¥याउने इमान वाक् स्वतन्त्रतालाई लोकतन्त्रको प्राणवायुको नामले पनि पुकारिन्छ । स्वतन्त्रताको महìव के र कति हुन्छ त्यो स्वतन्त्रताको उपयोग गर्न नपाएका पुस्ता र विश्वमा वाक् स्वतन्त्रता खोसिएका मान्छेले व्यक्त गर्ने पीडामा व्यक्त भएको देखिन्छ । ‘मेरो कलम नभाँच, मेरो बोल्ने मुख नथुन, मेरो हात गोडामा नेल नठोक भन्ने बिपी कोइरालाका समकालीन सबै कम्युनिट कांग्रेस र २०४६ सम्मको स्थिति बेहोर्ने आममान्छेलाई थाहा छ बन्धनभित्र कैद भएको स्वतन्त्रताको अर्थ ? राजा ज्ञानेन्द्र शाहले २०६१ मा सञ्चार माध्यममा गरेको निषेधको परिणति के भयो दुनियाँ जगजाहेर छ ।
प्रजातन्त्रको मौलिक हक हो स्वतन्त्रता । नेपालमा थुप्रै आन्दोलन भए सशस्त्र, निशस्त्र । सङ्घर्ष प्रजातान्त्रिक स्वतन्त्रता सुनिश्चित गर्नकै लागि भएका थिए । प्रेस स्वतन्त्रता, लोकतान्त्रिक व्यवस्थाको मेरुदण्ड मानिन्छ । कसैको हस्तक्षेप, नियन्त्रण र नियोजन बिनास्वतन्त्र तवरले कार्य गर्ने लेख्ने बोल्ने, सङ्घ सङ्गठन खोल्न पाउने वा निर्बाध रूपमा आफ्ना गतिविधि गर्न पाउने अवरोधरहित अवस्थाको प्रावधान हो ।
लोकतान्त्रिक मर्यादा मूल्य र अस्मिताको जीवन्तता र गतिशीलता वाक् स्वतन्त्रताको परिधिका रूपमा व्याख्या विश्लेषण गरिन्छ । विचार अभिव्यक्तिको स्वतन्त्रताले खुला समाजको वृद्धि र विकासमा बहुकोणबाट मद्दत पु¥याइरहेको पाइन्छ । विचार प्रवाह गर्ने, आफ्नो मार्गनिर्देश सम्प्रेषण गर्ने स्वतन्त्रताले नागरिकलाई बलियो बनाउन र अन्यायको विरुद्ध प्रथम प्रतिरोध गर्न बल प्रदान गर्र्छ ।
स्वतन्त्र र निष्पक्ष ढङ्गले गर्ने टिप्पणी आलोचना र विरोधले गलत प्रवृत्तिलाई सचेत गराउने, झापड लाउने र केहीहदसम्म नियन्त्रण गर्ने काम गर्छ । संवैधानिक हकका रूपमा नै सुरक्षित अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्न नजान्दा यसको मर्यादा उल्लङ्घन गर्दा आममान्छे नेतागण र पत्रकारलगायत बारम्बार चुकेका छन्÷छौँ । आधुनिक सूचना प्रविधि र अधिकांश मान्छेको हातमा सञ्चार माध्यमका थरी थरी साधन भएकाले एक क्लिकमा कुनै पनि अभिव्यक्ति तत्क्षण विश्वव्यापीकरण गर्ने अवसर प्राप्त छ, फलतः जुनसुकै घटना पनि सामाजिक सञ्जालमा पुग्छ र तत्काल टिप्पणी प्रतिटिप्पणी हुन थाल्छ ।
हामी स्वतन्त्रताको नाममा जुन कुरा गरिरहेका छौँ र निर्बाध पाउने हक भन्छौँ त्यो मर्यादामाथिको उपहास हो । स्वच्छन्दता होइन स्वतन्त्रता, यसको मर्यादा, सीमा र नैतिक बन्धन सामाजिक अभ्यास पनि छन् । ब्रेक थ्रु गर्ने र ब्रेकिङ न्युज बनाउने होडले, लोकप्रिय बन्ने ध्याउन्नले अभिव्यक्ति अधिकारको नाममा हामीले कर्तव्य र जिम्मेवारी बिर्सिरहेका छौँ । जान अन्जानको हतारोले विचार अभिव्यक्त गर्दा क्षण भरमै कसैको जिन्दगी बर्बाद पार्ने र सामाजिक हैसियत धुलिसात पारिदिने कामसमेत भएका छन् । गलत सन्देश प्रवाह गर्दा र कतिपय संवेदनशील विषयका सन्देश प्रकाशन गर्दा पर्ने दीर्घकालीन असरलाई, व्यक्तिगत चरित्र हत्यालाई संवैधानिक बन्दोबस्तीको आडमा बचाउन सकिन्न । त्यसैले सचेतता अत्यन्तै जरूरी हुन्छ । लोकतन्त्र बलियो बनाउन हरेक विषयमा जनमतको छलफलले दिने राय, सचेत खबरदारी अनि अभिमतको खाँचो र पारदर्शिता हुन्छ तर सबै विषयमा पारदर्शिताको माग गर्दै स्वतन्त्रताको कुरा गर्नु कर्तव्यप्रति आँखा चिम्लनु हो ।
स्वच्छ आलोचना, स्वस्थ निर्देशन र सैद्धान्तिक टिप्पणी, सैद्धान्तिक प्रतिटिप्पणीले सरकारी नीतिहरू दिशाहीन बन्दैनन्, प्रवृत्तिगत आलोचनाले व्यक्तिको मान मर्दन हुँदैन । वाक् तथा अभिव्यक्ति स्वतन्त्रता आजको समाजको अभिन्न पक्ष हो । पृथक् पृथक् विचार सैद्धान्तिक मान्यता, दर्शन अनि व्यवहार भएको बहुल समाजमा सबैको एकै विचार मान्यता र विश्वास पाइन्न, त्यसैले कतिपय अभिव्यक्ति अलि असहज र अस्वाभाविक तवरका साथ आउँछन् । दमनको हतियारले तह लगाउने नभएर उत्कृष्ट नैतिक दबाबसहित मर्यादा र सीमामा बसेर प्रतिरोध गर्नु पर्छ ।
लोकतन्त्रको आधारभूत तत्व अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता नै हो तर यो मर्यादित, अनुशासित र अनुकरणीय हुनु पर्छ । वाक् स्वतन्त्रता मर्यादासहितको विशिष्ट संस्कृति पनि हो । नैतिक र जवाफदेही स्वतन्त्रताले मात्रै लोकतन्त्र मजबुत हुन्छ । प्रविधिको क्षणिक लाभ र कस्मेटिक आकर्षणभन्दा यसले पार्ने दूरगामी जोखिममा ध्यान पुग्नु जरुरी हुन्छ ।
माक्र्सवादी चिन्तक स्टुआर्ट हल “मिडियाले वास्तविक कुरालाई नकाव भिराउँछ” भन्छन् तर मिडिया नै नहुनु जस्तो मध्ययुगीन अन्धकालको पृष्ठपोषण उनको उद्देश्य देखिन्न । मिडिया समग्रमा निषेध नभएको र अभिव्यक्तिको स्वतन्त्रता प्रकट गर्ने ठाउँ अन्यत्र पनि भएको कारण टिकटकमाथिको सरकारी प्रतिबन्ध विशेष आपत्तिको विषय नहुनु पर्ने हो । यद्यपि समस्या कन्टेनको हो । स्वच्छन्दता अभिव्यक्तिमा हो । प्लेटफर्म अर्थात् माध्यमको होइन । सामाजिक सद्भाव बिथोलिने, समाज भड्किने, प्रविधिबाट नभएर प्रयोगकर्ताबाट हो । नयाँ र प्रविधिमैत्री पुस्तालाई सामाजिक विमर्श र ज्ञान उत्पादनमा फ्यासिलेटेड गरौँ । गलत ज्ञान र गलत अफवाहबारे सचेत गराऔँ प्रविधिको नियमन गरौँ ।
वाक् स्वतन्त्रताको जति महत्व र अर्थ छ त्यति नै वाक् मर्यादाको पनि मूल्य र अस्तित्व छ । मूल्यहीन हुनु भनेको जथाभावी बोल्ने र बोलेको कुराको स्वामित्व नलिने, उत्तरदायी नबन्ने कारण नै बोलीको गरिमा गिरेको र बोली अर्थहीन बन्न पुगेको हो । निर्बाध वाक् स्वतन्त्रताको माग गर्ने अधिकार सम्झनेले वाक् मर्यादाको पक्ष कहिल्यै बिर्सन नमिल्ने विषय हुन् । अधिकारसँग कर्तव्य जस्तै वाक् स्वतन्त्रतासँग वाक् मर्यादा, वाक् सीमा र वाक् कर्तव्यका पक्ष अन्योन्याश्रित भएर रहेका हुन्छन् । एक सिक्काका दुई पाटा झैँ हो वाक् स्वतन्त्रता र वाक् मर्यादा ? जसरी सिक्काको दुई पाटोबिना सिक्का खोटो हुन्छ, त्यसै गरी वाक् मर्यादा र वाक् स्वतन्त्रताबिना सभ्य र सुसंस्कृत बन्ने समाज खोटो हुन्छ । स्वतन्त्रतामा अनुशासन र नैतिकता अन्तर्निहित हुन्छ ।
वाक् स्वतन्त्रता अनुशासित र मर्यादित भए मात्र सभ्य समाज र संस्कृति निर्माण सहज हुन्छ । वाक् मर्यादाको सवाल वाक् स्वतन्त्रताको सङ्कुचन नभएर कर्तव्य र अधिकारलाई सँगसँगै बुझ्ने कडीको रूपमा लिनु पर्छ । वाक स्वतन्त्रता मर्यादित त्यस बेला पनि बढी हुन्छ जति बेला शासन र शासक मर्यादित र जिम्मेवार रहन्छन् । जिम्मेवार निकाय र सरकारलाई मात्र गैरजिम्मेवार स्वतन्त्रताको हनन गर्ने हक र नैतिक तागत रहन्छ । नियन्त्रित स्वतन्त्रताको विरोध र मर्यादित स्वतन्त्रताको पक्षमा आजको प्रेस र सामाजिक सञ्जाल रहनु जरुरी छ । वाक् स्वतन्त्रता विशिष्ट प्रयोग हो, अश्लील अभ्यास किमार्थ होइन । स्वतन्त्रता निरपेक्ष होइन सापेक्षित हुँदा यसको मर्यादा रहन्छ । अनियन्त्रित स्वतन्त्रता सामाजिक र नैतिक जोखिम हो ।
बहुदलीय व्यवस्थामा एक दलसँग अर्को दल असहमत हुन्छन् नै । एक नेतासँग अर्को नेताको विचार नमिल्न सक्छ । नेताकार्यकर्ता दलको विचार र नेताको नेतृत्व शैलीसँग सहमत भएर पार्टीहरूमा आबद्ध हुन्छन् त्यसैले कुनै पनि विचार नेता र शैलीसँग कोही पनि शतप्रतिशत सहमत बन्ने स्थिति हुँदैन । असहमत विचारको विपक्षमा खण्डन गर्ने आफ्नो तर्क दिने स्वतन्त्रता हुन्छ तर स्वतन्त्रताको उपभोग गर्ने कुनै पनि व्यक्ति र विचारको विरोध गर्ने प्रतिकार गर्ने विशेष अवस्था र प्रव्रिmया पद्धति, संस्कृति र अभ्यासहरू छन् । राजनीतिक मञ्चबाट गर्नुपर्ने विरोध धार्मिक मञ्चबाट गरेको सुहाउन्न । त्यस्तै विशुद्ध प्रतिस्पर्धात्मक खेलको मजा लिने ठाउँमा कसैप्रतिको जिन्दावाद मुर्दावाद अराजनीति हो । नेता÷मन्त्री र प्रधानमन्त्री, राष्ट्रपति उपस्तिथित गैरराजनीतिक क्षेत्रमा मुर्दावाद भन्नु अलोकतान्त्रिक घृणित अराजनीति हो । आफ्नो देशका खेलाडीको मनोबल वृद्धि गर्न दशरथ रङ्गशालाभित्र देशको प्रधानमन्त्री पुग्दा अमुक दलका कार्यकर्ताको राजनीतिक प्रेरित नाराबाजी आपत्तिजनक हो । खेलाडीको उत्साह बढाउन व्यक्ति केपी ओली होइन प्रधानमन्त्री संस्था, देशको कार्यकारी अथोरिटी गएको भन्ने बुझ्नु पर्छ । भोलि त्यो अथोरिटीमा आज नाराबाजी गर्नेहरूको नेता पनि जान सक्छ भन्ने नबुझ्नेले स्वतन्त्रताको कुरा किन गर्ने ?
राजनीतिक नारा लाउन खण्डन गर्न, विरोध र प्रतिवाद गर्न थुप्रै ठाउँ छन् । राजनीति पनि निश्चित ठाउँमा अनुशासन पालन गरेर खेलिने खेल जस्तै सामाजिक र संवैधानिक प्रबन्ध हो । भोलि बन्ने र आउने प्रधानमन्त्री पनि जुनसुकै पार्टी र जोसुकै व्यक्ति हुन सक्छन् र खेल हेर्न जान सक्छन् त्यस्तो बेला प्रधानमन्त्रीसँग असहमति राख्ने पार्टी र नेताकार्यकर्ताले विरोध गर्ने परिपाटी बस्यो भने को बच्ला कसका विरुद्ध नारा लाग्न छुट्ला ? यस्ता प्रवृत्ति र पक्षले स्वतन्त्रताको रक्षा गर्न सक्दैन । आत्मघाती स्वतन्त्रता र अराजक स्वतन्त्रता आममान्छेको चाह र संस्कृति होइन । मूल्यसहितको स्वतन्त्रताको वकालत गरौँ । मूल्यहीन र स्तरहीन स्वतन्त्रता त्याज्य ठानौँ । सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने स्वतन्त्रताको विपक्षमा मत निर्माण गरौँ ।