लोकजीवनको दर्शन मौलिक भेष, भाषा, रहनसहन, कला तथा परम्परागत गीतमा गर्न सकिन्छ । कुनै पनि समाजमा परम्परादेखि रहने मौलिकतामध्ये त्यहाँको लोकजीवनको प्राणमा विभिन्न गाथा तथा मिथक पनि पर्छन् । गाथाको वर्णन अभिनय, गायन तथा दुवैको समन्वयबाट गरिएको पाइन्छ । नेपालको दक्षिणी भाग तराई–मधेशको मधेशी लोकजीवनका जरजटिन, झिझिया तथा सामाचकेवा अभिनय, गायन र दुवैको उत्कृष्ट समन्वय हुने संस्कृति हुन् । आधुनिकताको प्रभावले परम्परागत मौलिकता केही धुमिल हुँदै गएको भए पनि महिला प्रधान यी संस्कृतिहरू जीवित छन् । बरु पुरुष प्रधान धेरै संस्कृति लोप भइसकेका छन् ।
जरजटिन भदौ, झिझिया असोज र सामाचकेवा कात्तिक महिनामा मनाइन्छन् । यी तीन संस्कृति शुक्ल पक्षमा मनाइने, महिलाको मात्र सहभागिता हुने, माइतीमा रहेका दिदीबहिनीको मात्र प्रत्यक्ष सहभागिता हुने, गीतिमयता हुने तथा रातिको समयमा मात्र मनाइने जस्ता साझा विशेषता हुन् । कात्तिक महिनाको शुक्ल द्वितीयाको दिन भाइटीका हुने दिन तराई मधेशको छठ मान्ने समुदायमा गोवर्धन पूजा गरी छठको सङ्कल्प लिइन्छ र यसै तिथिलाई संस्कृतमा भ्रातृद्वितीया भनी मधेशमा भरदुतियाको नामले जानिन्छ । यसै दिनदेखि लोकजीवनमा सामाचकेवाको गतिविधि आरम्भ हुन्छ । आफैँले सामाचकेवा बनाउने दिदीबहिनीले यसै तिथिमा काँचो माटोको सामाचकेवाका विभिन्न प्रतिमूर्ति बनाउने कामको सुरुवात गर्छन्, यद्यपि छठपर्वको पारनसँगै सामाचकेवा खेल्न सुरु हुन्छ । पहिले माइतीमा रहेका विवाहित दिदीबहिनीको पनि सहभागिता हुने गरेको सामाचकेवामा अब बिस्तारै अविवाहित र बालिकाहरूको मुख्य सहभागिता हुने गरेको छ ।
भौगोलिक क्षेत्र
सामाचकेवालाई सामाचकेवा पनि भनिन्छ । यो नेपालको पूर्वी तराईदेखि पश्चिमसम्म मनाइन्छ । सम्पूर्ण मधेशी समुदायका साथै थारू समुदायले पनि यसलाई उत्तिकै महत्वका साथ मनाउने गरेका छन् । थारू समुदायले यसलाई अझै पनि विशेष रूपमा मान्दै आएका छन् । हरेक वर्ष सामाचकेवाको विसर्जन हुने कात्तिक पूर्णिमाको दिन रौतहटको सन्तपुरमा सामाचकेवा महोत्सव पनि मनाइने गरिन्छ । नेपालको विभिन्न भागमा औपचारिक समारोहहरू गरिने चलन चलिसकेको भए पनि अनौपचारिक रूपमा अझ बढी विसर्जन संस्कृति विद्यमान छ ।
नेपालका साथै यो संस्कृति भारतको बिहार र झारखण्ड प्रान्तमा पनि उत्तिकै धुमधामसित मनाइन्छ । उत्तर प्रदेशको केही जिल्ला र पश्चिम बङ्गालको केही ठाउँमा पनि यो मनाइने गरिएको बुझिएको छ । समाचकवा मनाइने क्षेत्रबाट बसाइँ सरी गएका मानिसहरू अन्य क्षेत्रमा रहेर पनि थोरबहुत मनाउने गरेको पाइन्छ ।
सामाचकेवाका प्रतिमूर्तिहरू
सामाचकेवा संस्कृतिमा सामा, चकवा (चखेवा), खिडरिच चरा, वृन्दावन, चुङला (कुरौटे), सतभैया, चौकीदार आदिको प्रतिमूर्ति माटोले बनाइन्छ । कतिपयले आफैँले बनाउँछन्, अधिकांशले बजारमा पाइने विभिन्न कलात्मक प्रतिमूर्तिहरू किनेर मनाउँछन् । छठपर्वको समयमा नै बजारमा पर्याप्त सामासामग्री पाइन्छन् । क्षेत्र विशेषको आधारमा केही प्रतिमूर्ति फरक पनि हुन सक्छन् । सबैभन्दा सम्मानित सामा र चकवाका तथा सबैभन्दा अपमानित चुङलाको प्रतिमूर्ति मानिन्छन् ।
प्रतिमूर्तिहरूको प्रतीकात्मक सम्बन्ध धार्मिक तथा पौराणिक आस्थासित जोडिएको छ । सबै प्रतिमा एउटा ढकियामा राखेर सामा खेल्ने दिदीबहिनीहरू कुनै आँगनमा जम्मा हुन्छन् । सबैको ढकियामा एउटा बत्ती बलेको हुन्छ । सबै जना गीत गाउँदै सामालाई सामूहिक रूपमा चराउन लैजान्छन् । सम्भव भएसम्म
गाउँबाहिर चराउन लैजाने चलन छ । घरनजिकै पनि केही हरियो घाँस वा झार छ भने त्यही चराउँछन् । यो क्रम कात्तिक पूर्णिमासम्म चलिरहन्छ ।
पौराणिक सन्दर्भ
द्वापर युगमा कृष्ण र जाम्बवतीका एक छोरा शाम्ब र एक छोरी शाम्बा थिइन् । दुवै दाजु र बहिनीमा अत्यधिक स्नेह थियो । कालान्तरमा शाम्बाको विवाह ऋषिकुमार चारुदत्तसित भयो । दुष्ट स्वभावका मन्त्री चुडकले भित्रभित्रै कृष्ण पुत्री शाम्बालाई मन पराएका थिए । शाम्बा ऋषिमुनिको सेवामा वृन्दावनको आश्रममा पनि जान्थिन् । आश्रम जाँदा वनको बाटो पनि पर्दथ्यो । चुडकले शाम्बाविरुद्ध कृष्णसित लाञ्छनाजन्य कुरो लगाए । रिसाएर कृष्णले छोरी शाम्बालाई चरो बन्ने श्राप दिएपछि शाम्बा चरो बनिन् । त्यहीँ चरोलाई सामा भन्ने गरिएको हो ।
पत्नी शाम्बा चरो बनेपछि ऋषिकुमार चारुदत्तले भगवान् शिवको तपस्या गरे । शिव प्रसन्न भएपछि वरदानमा चारुदत्तले शाम्बालाई पुनः मानवमा परिणत गर्न आग्रह गरे तर श्रीकृष्णको श्रापलाई बदल्न नसक्ने बताउँदै शिवले चारुदत्तलाई पनि चकवा चरो बनेर सँगसँगै आकाशमा विचरण गर्ने वरदान दिए । त्यसपछि चारुदत्त र शाम्बा चकवा–चकवी भएर आकाशमा विचरण गर्न थाले । आफ्नी प्रिय बहिनीको यस्तो हालत देखेर अत्यन्त दुःखी भएका दाजु शाम्ब वृन्दावन गएर विष्णुको आराधना गर्न थाले । उनी दुवैलाई मनुष्यको रूपमा पुनः फर्काउन चाहन्थे । यो कुरा थाहा पाएर मन्त्री चुडकले त्यस वनमा आगो लगाइदिए जुनमा शाम्ब तपस्यारत थिए । आगो लगाएको देखेर चुडककै कुकुरले उसको अनुहारमा टोकिदियो । त्यसपछि चुडकले फेरि आगो निभाउन लगाए । शाम्बको तपस्या पूरा भएपछि विष्णुले शाम्बलाई त्यो उपाय बताए जसबाट दुवै जना पुनः मनुष्य बन्न सक्छन् । विष्णुले बताएको उपाय गरेपछि दुवै जना श्रापमुक्त भएका थिए । कृष्णले पनि छोरी र ज्वाइँलाई ससम्मान स्वीकार गरेको पौराणिक मिथक पाइन्छ ।
गीतिमयता
सामाचकेवाको मूल प्रवाह गीतिमयता हो । यस संस्कृतिको सम्पूर्ण भाव गीतमै प्रवाह भएको हुन्छ । कतै कतै गीतबिनाका क्रियात्मकता हुन्छ अन्यथा गीतकै भावसित सामाचकेवालाई चराउने, गाउँ डुलाउने र दुबोले पूजा गर्ने तथा सजाउने गरिन्छ । यसका करिब सम्पूर्ण गीत शान्त रसका छन् । गीतमा दाजु र बहिनीको प्रेम मुख्य तत्व हो । चुडकलाई चुङला (कुरौटे)को प्रतीक मानी उसको प्रतिमूर्तिमा हरेक दिन आगो झोँसिन्छ र गाली तथा अपमानका गीतहरू गाइन्छन् । भाउजु र नन्दबिच हुने जिस्क्याइँको झलक पनि गीतमा पाइन्छ भने केही मार्मिक पक्ष पनि गीतमा रहेको छ । मातापिताको अभिभावकत्व रहेसम्म माइतीमा दिदीबहिनीले सामाचकेवा खेल्ने भावको गीतले सबैको मन छोएको हुन्छ । यस संस्कृतिको विसर्जन पनि गीत गाएरै गरिन्छ । कात्तिक पूर्णिमाको दिन राति सामाचकेवाका सम्पूर्ण सामग्रीलाई विधिपूर्वक जलाशयमा सेलाइन्छ । केही ठाउँमा प्रतिमूर्तिहरूलाई अङ्गभङ्ग गरी सेलाउने चलन पनि रहेको छ । प्रतिमूर्तिहरूलाई जलाशयमा सेलाएर यस वर्षका लागि संस्कृतिको समापन गर्दैगर्दा गीतमै अर्को वर्ष पनि सामाचकेवा खेल्ने प्रतिबद्धताको भाव अभिव्यक्त गरिन्छ ।
सामाजिक सन्देश
कुरौटेहरूलाई सम्मान गरिनु हुन्न । दाजु–बहिनीको प्रेम र स्नेहको कुनै सीमा हुँदैन । धेरै कथा तथा पौराणिक प्रसङ्गमा दिदीबहिनीले दाजुभाइका लागि त्याग गरिएका सन्दर्भ पाइन्छन् तर यसमा दाजुले बहिनीका लागि सबै सुख त्याग गरेर वनमा तपस्या गरी बहिनी र ज्वाइँलाई पुनर्जीवन दिलाउँछन् । यस प्रेमको अमरगाथाले सामाजिकता तथा सामूहिकताको सन्देश पनि दिन्छ । यो संस्कृति अविवाहित छोरीचेलीदेखि विवाहित दिदीबहिनीहरूको भेटघाट तथा संवादका साथै सामूहिक मनोरञ्जनको परम्परागत आधार बनेको छ । पूर्णतः विकृतिरहित सामाचकेवा संस्कृतिको अन्तर्यमा दाजुभाइको सुख, शान्ति र समृद्धिको कामना गरिएको हुन्छ । दाजुभाइको नाम लिएरै विभिन्न शुभभावनाका गीतहरू गाइन्छन् । यसले लोकगीतलाई जोगाएर राख्नमा पनि ठुलो योगदान दिएको छ ।