• २८ पुस २०८१, आइतबार

मह जोडीको प्रहसन ‘मह जात्रा’

blog

काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिएको मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको ‘मह जात्रा’ प्रहसन ।

काठमाडौँ, कात्तिक ३० गते । मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको ‘मह जात्रा’ प्रहसन सफलतापूर्वक सम्पन्न भएको छ । नेपालको हास्य –व्यङ्ग्य विधामा विशिष्ट स्थान बनाएको मह जोडी श्रेष्ठ र आचार्यको दश वर्षपछि पुनः मञ्चमा फर्केको ‘मह जात्रा’ प्रहसनको पहिलो दिन दर्शकको भव्य उपस्थित र उत्साहबिच सफलतापूर्वक सम्पन्न भएको हो ।

काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिएको कार्यक्रमको पहिलो दिनमा दर्शकको अत्यधिक भिड देखिन्थ्यो । जसले मह जोडीप्रतिको दर्शकको माया र सम्मानलाई पुनः एकपटक झल्काएको छ ।

यो कार्यक्रमलाई मह जोडीको सम्भावित अन्तिम प्रहसन मानिएको छ । यसमा मदनकृष्ण श्रेष्ठको स्वास्थ्य चुनौतीका बाबजुद हास्य–व्यङ्ग्यमा निरन्तरता दिने अठोटले यो प्रस्तुति विशेष बनेको छ । हरिवंश आचार्यसँगको अटूट सहकार्यका कारण यो प्रहसनले मह जोडीको उत्कृष्टता र समर्पणलाई अझ स्पष्ट रूपमा देखाएको छ ।


हास्य–व्यङ्ग्यको अनौठो मिश्रणसहित प्रस्तुत गरिएको ‘मह जात्रा’ ले दर्शकलाई समाजमा विद्यमान समसामयिक मुद्दाहरूलाई हँसाउने तरिकाबाट गम्भीर रूपमा सोच्न प्रेरित गर्‍यो । नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, र सांस्कृतिक कुरीतिहरूलाई हँसाउने शैलीमा प्रस्तुत गरेर दर्शकको मन जित्न सफल भयो ।

मह जोडीसँगै सहभागी कलाकारहरूले किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले र विभुषा बस्नेत जस्ता चर्चित कलाकारहरूले पनि दमदार प्रस्तुति दिनुभएको थियो ।

दर्शकहरूले यो प्रहसनलाई अत्यधिक सकारात्मक प्रतिक्रिया दिएका छन् । हास्य र व्यङ्ग्यको माध्यमबाट समाजका गहिरा विषयवस्तुहरूलाई उजागर गर्ने मह जोडीको शैली दर्शकहरूले निकै रुचाएका छन् ।


मिरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजित यो प्रहसनको बाँकी दिनहरूको टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । कार्यक्रम कात्तिक ३०, मङ्सिर १, ४, ५, ६, १२, १३, १७, र १८ गतेसम्म जारी रहनेछ ।

मह सञ्चार र सुश्री मिडिया प्रा.लि.को सहकार्यमा प्रस्तुत यो कार्यक्रमले नेपाली हास्य–व्यङ्ग्य क्षेत्रमा महत्त्वपूर्ण कोसेढुङ्गा राख्ने विश्वास गरिएको छ । ‘मह जात्रा’ ले दर्शकलाई हँसाउने मात्र होइन, समाजप्रति नवीन दृष्टिकोण राख्न प्रेरित गर्नेछ ।