• २८ पुस २०८१, आइतबार

बेवारिसे नागरिकलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा : सभामुख घिमिरे

blog

सभामुख देवराज घिमिरे काठमाडौँमा किशोर तथा किशोरी सञ्जालको राष्ट्रिय भेलाको निचोड बुझ्ने क्रममा आयोजित कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, कात्तिक ३० गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बेवारिसे भइ हुर्किएका बालबालिकाहरुलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा किशोर तथा किशोरी सञ्जालको राष्ट्रिय भेलाको निचोड बुझ्ने क्रममा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यो विषय संसदमा पनि छलफलको विषय बनेको बताउनुभयो ।

यसबारेमा गृह मन्त्रालयले अनाथालयमा हुर्किरहेका र अनाथालयले जिम्मेवारी लिएका तर नागरिकतासम्बन्धी कानुनले व्यवस्था गरेको हिसावबाट नसमेटिएकालाई कसरी नागरिकता दिने भन्नेबारेमा कार्यदल नै बनाइ काम गरिरहेको जानकारी दिनुभयो । उहाँले कार्यदलले प्रतिवेदन दिइसकेपछि सरकारले चाँडै कानुन बनाउने र संसदमा बहस हुने अपेक्षा गर्नुभयो ।

यौनिक, अल्पसङ्ख्यक रुपमा रहेका समुदायहरुलाई मानवको रुपमा व्यवहार नगर्ने खालको परिपाटी रहेको भन्दै यसको बारेमा राजनीतिक क्षेत्रबाट मुलतः अभियानहरुबाट कार्यक्रम लैजाने र उनीहरुको अवस्था, चिन्तन, चेतनालाई विकास गर्ने काममा लाग्नुपर्ने बताउनुभयो ।

बोल्न नसक्ने बालबालिका र किशोरकिशोरीहरुका समस्या समाधान गर्न उनीहरुका समस्या दोभाषेका माध्यमबाट आवश्यकता पूरा गर्नुपर्ने उहाँको भनाइ छ । भौतिक संरचना निर्माण गर्दा हिँड्न नसक्नेहरुका लागि तदअनुकूल वातावरणका भौतिक संरचना निर्माण गर्ने कानुनी प्रवन्ध भइरहेको भइरहेको पनि बताउनुभयो ।

सभामुख घिमिरेले सबै खालका बालबालिकाहरुलाई राष्ट्रिय गौरवको रुपबाट अगाडि लैजानका लागि चाहिने सबै प्रवन्ध मिलाउन राज्यमा सुशासन र राज्य आर्थिक रुपबाट मजबुत हुन जरुरी रहेको बताउनुभयो ।