• १९ पुस २०८१, शुक्रबार

सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध

blog

बागलुङ, कात्तिक २९ गते । ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका कारण अवरुद्ध भएको छ । नयाँ सहर आयोजना कार्यालयले निर्माण गर्न लागेको बसपार्कको सिमानामा विवाद हुँदा काम रोकिएको हो । 

वि।सं।२०७५ सालमा छ रोपनी जग्गा खरिद गरेर निर्माण सुरु भएको बसपार्कको पर्खाल सँधियारले भत्काएपछि काम रोकिएको नयाँ सहर आयोजना कार्यालयका प्रमुख रामृकष्ण गिरीले जानकारी दिनुभयो । 

नापी विभागले निर्णय नसुनाएसम्म बसपार्क निर्माणको काम अगाडि नबढ्ने उहाँले बताउनुभयो । सँधियारले २० मिटर पक्की पर्खाल भत्काएपछि काम रोकिएको हो । हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ । सात करोडको लगानीमा बन्ने बसपार्कमा रु दुई करोड २६ लाख खर्च भइसकेको छ । 

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको नजिक रहेको भुजीखोला किनारमा तटबन्धन गरेर निर्माण थालिएको बसपार्कमा हाल टर्मिनलको आधा काम पूरा भएको छ । बसपार्कमा ३० वटा जीप, २० वटा बस र केही साना सवारीसाधन राख्न सकिने छ ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले यथाशीघ्र विवाद निरुपण गरेर निर्माण पुनः थाल्नुपर्नेमा जोड दिनुभयो ।