• १० मंसिर २०८१, सोमबार

जनताले कांग्रेस सरकारमा रहेको अनुभूति गर्नेगरी काम गर्छौँ : उपप्रधानमन्त्री सिंह

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह।

जनकपुरधाम, कात्तिक २८ गते। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकले नेपाली कांग्रेस सरकारमा रहेको अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ।  

जनकपुरमा रहेको मधेश प्रदेश नेपाली कांग्रेस पार्टी कार्यालयमा संक्षिप्त सम्बोधन गर्दै उहाँले राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन बनेको भन्दै सरकारले नागरिकको चाहना अनुसार काम गर्ने बताउनुभयो। राजनीतिक स्थायित्व विना विकास र समृद्धि सम्भव नरहेको भन्दै उहाँले कांग्रेस र एमाले गठबन्धनले स्थीरतासँगै विकास निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो। 

त्यस्तै फरक सन्दर्भमा उहाँले अहिले आइरहेका चुनौती सामना गर्न सक्ने गरी कांग्रेस पार्टीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो। प्रदेशले राम्रो काम गरे पार्टी बलियो हुने भन्दै उहाँले मधेस प्रदेश समितिलाई सङ्गठन निर्माणमा लाग्न पनि आग्रह गर्नुभयो। 

 सेवा प्रवाह सहज बनाउन कर्मचारीलाई निर्देशन

मन्त्री सिंहले  नागरिकलाई सहज रूपमा सेवा दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ। सहरी विकास मन्त्रालयले निर्माण गरेको मिथिला अन्तर गृह परिक्रमा विश्रामस्थल तथा सभाहल समुद्घाटन कार्यक्रममा बोल्दै उहाँले सेवा प्रवाहलाई सहज बनाउन निर्देशन दिनुभएको हो। 

सभाहल र मिथिला अन्तर गृह परिक्रमा विश्रामस्थलको निर्माणले  स्थानीयलाई थप सहज हुने उपप्रधानमन्त्री सिंहले  विश्वास व्यक्त गर्नुभयो। त्यस्तै उहाँले योजनाहरू बनाउँदा जनप्रतिनिधिसँग सल्लाह गर्दा काम सहज हुने पनि बताउनुभयो। 

सङ्घीय सहरी तथा भवन निर्माण कार्यालय जनकपुरधामले समयमै काम सम्पन्न गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा अरू आयोजनाहरू पनि समयमै काम सक्ने गरी अघि बढाउन निर्देशन दिनुभयो। 

६ करोड २१ लाखमा समयमै निर्माण सम्पन्न भएको जलेश्वर-जनकपुरधाम–धनुषाधाम सर्किटअन्तर्गत सभाहल, विश्रामस्थल, धर्मशाला, मन्दिर परिसर सुधार, पोखरी सौन्दर्यीकरणको काम सम्पन्न भएको छ। यसले जनकपुरधामको धार्मिक गतिविधिमा सघाउ पुग्ने विश्वास गरिएको छ। 

त्यस्तै उपप्रधानमन्त्री सिंहले धनुषाकै गणेशमान चारथान नगरपालिकामा निर्मित नेपाल रेडक्रस आँखा उपचार केन्द्रको नवनिर्मित शल्यक्रिया भवनको पनि उद्घाटन गर्नुभयो। उहाँले शल्यक्रिया सेवा सुरु भएपछि स्थानीय नागरिकले सुविधा पाउने र उपचारका लागि टाढा जानुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गर्नुभयो। आँखाको उपचार प्रभावकारी बनाउन आग्रह गर्दै उपप्रधानमन्त्री सिंहले आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। सिंह सहभागी कार्यक्रममा कांग्रेस सहमहामन्त्री महेन्द्र यादव, कांग्रेस  केन्द्रीय सदस्य, राष्ट्रिय सभा सदस्य आनन्द ढुङ्गाना केन्द्रीय सदस्य किरण यादव र मुक्ता यादव सहभागी हुनुहुन्थ्यो।