• २७ मंसिर २०८१, बिहिबार

सीमामा सुरक्षा अधिकारीको दोस्रो सीमा पैदल यात्रा

blog

सुनसरीको बर्जु गाउँपालिका ३ मा दुईदेशीय सुरक्षा अधिकारीको दोस्रो सीमा पैदल यात्रा सुरु गर्दै अनुगमनमा अधिकारीहरु । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, कात्तिक २८ गते । सुनसरीको नेपाल भारत सीमामा दुईदेशीय सुरक्षा अधिकारीको दोस्रो सीमा पैदल यात्रा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्तिक १३ गतेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार सीमामा सुरक्षा अधिकारीको दोस्रो सीमा पैदल यात्रा सुरु भएको हो। 

सुनसरी जिल्लासँग जोडिएको भारतीय सीमा नाका तथा सीमा स्तम्भको अनुगमन, सीमा सुरक्षा, सीमा अपराध, स्थानीय जनताको पिरमर्का लगायतका विषयमा सीमा पैदल यात्रा सुरु गरेको जनाएको छ । सीमा पैदल यात्रासँगै सीमाका सरोकारवाला निकायहरू, स्थानीय जनप्रतिनिधिहरू, भद्रभलादमी तथा सहयोगीहरूसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिनुभयो । 

तिम्सिनाका अनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू भगवती दल गण इटहरीका निमित्त सेनानी चन्द्र कुमार आले, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड.क्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उप.अनुसन्धान निरीक्षक तुलसी कट्टेल, जनप्रतिनिधि, बुद्धिजीवी तथा भारतीय सीमा सुरक्षा बलका प्रमुख पशुपति कुमार सिंह समेतको उपस्थितिमा ६ दिने सीमा गस्ती सुरु गरेको हो । 

सुनसरीको बर्जु गाउँपालिका ३ बाट दोस्रो सीमा पैदल यात्रा सुरु भएको प्रजिअ तिवारीले बताउनुभयो । उहाँले सीमाको समस्या र नागरिकसँगको समन्वय तथा सीमा पारीका सुरक्षा अधिकारीसँगको सहकार्यमा शान्ति सुरक्षा, सीमा अपराध न्यूनीकरणका लागि यात्रा सुरु गरेको बताउनुभयो ।