• २६ मंसिर २०८१, बुधबार

‘कार्साङ’ मा जितुको भिन्न रूप

blog

काठमाडौँ , कात्तिक २८ गते । चलचित्र ‘कार्साङ’ को जितु नेपालको चारित्रिक ‘लुक्स’ मङ्गलबार सार्वजनिक भएको छ । जितुले चलचित्रको छायाङ्कनका बेला सेटमा अन्य कलाकारसँग खिचेर पोस्ट गरेको तस्बिरसँग उहाँको यो लुक्स मिल्दैन ।  लुक्स हेर्दा जितुले ‘कार्साङ’ मा चरित्रका लागि मेहनत गरेको देखिन्छ ।

कालो टोपी, चेक सर्ट, इस्टकोट, कालो पाइन्ट र लेकमा लगाउने गमबुट लगाएका जितुले झोला घुँडामा अड्याउनु भएको छ । उहाँले हातमा कचौरा बोक्नु भएको छ । कचौरामा जाँड रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा रहेका घर, पहाड, कुहिरो हेर्दा उहाँ कुनै लेकाली गाउँका स्थानीय हुने पुष्टि हुन्छ ।

पोस्टरमा ‘मकै त पिन्ने घट्टामा पिरती बस्यो ठट्टामा’ लेखिएको छ । त्यसैले उहाँ मकै पिस्न घट्टमा गएका हुन सक्ने अनुमान गरिएको छ । यम शेर्पाको ‘डेब्यु’ लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र पुस २६ गते प्रदर्शन हुँदै छ । शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, दिया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय रहेको छ ।