दिपकप्रसाद गौतम
वीरगञ्ज, कात्तिक २६ गते । वीरगन्ज महानगरपालिकाले एकैपटक १० हजारभन्दा बढी किशोरीहरूलाई आत्मारक्षाका लागि तालिम दिने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले महानगर भित्रका कक्षा ६ देखि १२ सम्म अध्ययनरत १० हजार भन्दाबढी छात्राहरूलाई तालिम दिन लागिएको जानकारी दिनुभयो ।
बुधबार कात्तिक २८ गते बिहान १० बजेदेखि वीरगन्ज महानगर क्षेत्र भित्रिका ३८ वटा सामुदायिक विद्यालय सहित निजी विद्यालय तथा कलेज गरी १२५ वटा शैक्षिक संस्थाका १० हजार भन्दाबढी छात्राहरूको सहभागिता रहने गरी आयोजना गरिएको प्रशिक्षण कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
हालसम्म भारतको आगरामा ७ हजार ४ सय १ जनालाई एकसाथ आत्मरक्षा तालिम दिएको विश्वकिर्तिमान एकसाथ १० हजार भन्दा बढी छात्राहरूलाई आत्मरक्षाको तालिम दिएर विश्व रेकर्ड सहित गिनिज बुकमा महानगरको नाम लेखाउन सकिने पनि दाबी पत्रकार सम्मेलनमा गरियो । नगरप्रमुख सिंहले यो तालिम सफल रूपमा सम्पन्न भएमा वीरगन्जको पहिचान अन्तर्राष्ट्रिय रूपमा हुने भएको हुँदा आम नगरवासीलाई कार्यक्रम सफल पार्न पनि आग्रह गर्नुभयो ।
गिनिज बुकमा नाम लेखाउने नै मुख्य उद्देश्य नराखी वीरगन्जका चेलीहरूलाई विभिन्न खाले हिंसाबाट सुरक्षित हुनका लागि आत्मरक्षा तालिम दिएर आत्मबल बढाउन लागेको नगरप्रमुख सिंहले स्पष्ट पर्नुभयो ।
बुधबार एकदिन चार घण्टाका लागि दिइने प्रशिक्षणले मात्रै किशोरीहरूको रक्षा हुने नभई यसलाई निरन्तरता दिनका लागि नेपाल सरकारले गरेको नीतिगत निर्णय अनुसार हरेक विद्यालयमा हप्ताको एक दिन शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयमा आत्मरक्षाको तालिम अनिवार्य दिनुपर्ने व्यवस्था गराएर निरन्तरता दिने धारणा नगरप्रमुख सिंहले व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा नगरप्रमुख सिंहले प्रशिक्षकहरूले निःशुल्क प्रशिक्षण दिने तर उहाँहरूको बस्ने खाने व्यवस्था भने वीरगन्ज महानगरपालिकाले गर्ने जानकारी दिनुभयो ।
वीरगन्ज महानगरपालिकाका नगर उपप्रमुख इम्तियाज आलमले महानगरको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा भारतका ख्यातिप्राप्त मार्सल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टीले तालिममा प्रशिक्षण दिनुहुने बताउनुभयो ।
महानगरका उपप्रमुख आलमले विश्वमा चर्चित प्रशिक्षकलाई वीरगन्जमै बोलाएर प्रशिक्षण दिन पाउनु पनि वीरगन्जको लागि सुवर्ण अवसर भएको बताउनु भयो । वीरगन्जको आदर्शनगर रङ्गशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी पूरा भइसकेको महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्यले भारतबाट आएका प्रशिक्षक शेट्टी अभिनेता, निर्देशक, निर्माता, मार्सल आर्ट र फिटनेस प्रशिक्षक समेत रहनुभएको उहाँले बलिउड र हलिउडका स्टारहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिनु भएकाले यस्ता ख्यातिप्राप्त प्रशिक्षकद्वारा दिइने तालिमले छात्राहरुहरु आत्मरक्षाका लागि सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा प्रशिक्षक शेट्टीले आफू नेपालका छात्राहरूलाई प्रशिक्षण दिन आउन पाउँदा खुसी लागेको बताउनुभयो ।