• २७ पुस २०८१, शनिबार

कालीदेवी मन्दिरमा मेला सुरु

blog

जात्रामा निकालिएको झाँकी । तस्बिरः बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, कात्तिक २७ गते । दोलखाको कालीदेवी मन्दिरमा यो वर्ष पनि ठुलो एकादशीदेखि मेला सुरु भएको छ । जिरी नगरपालिका–८ रामबोलेस्थित कालीदेवी मन्दिरमा प्रत्येक वर्ष एकादशीदेखि पञ्चमीसम्म एक साता सञ्चालन हुने मेला सुरु भएको नगर प्रमुख मित्र जिरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार ठुलो एकादशीदेखि मङ्सिर ५ गते पञ्चमीसम्म मेला र २९ गते साँझ विशेष कार्यक्रम हुने गर्छ । यो मेलामा दैनिक आन्तरिक तथा बाह्य दर्शनार्थीको भिड बढ्ने गरेको छ । 

विशेष गरी रामबोलेमा फूलको डोली लिएर दर्शनका लागि जाने दर्शनार्थी बढ्दो छ । कालीदेवी मन्दिरमा आफ्नो मनोकाङ्क्षा पूरा होस् भन्ने कामनाका साथ ठुलो सङ्ख्यामा श्रद्धालु भक्तजन पुग्ने गरेका छन् । कालीदेवीमा मेला अवधिमा बाजागाजा, सोली डोली र झाँकीनाचसहित भव्य मेला लाग्छ ।

अहिले यसको रौनकता देख्न नपाइए पनि धर्ममा विश्वास राख्ने श्रद्धालु मनले चिताएको कुरा पुग्ने विश्वासका साथ कालीदेवी मन्दिर पुग्छन् ।