• २८ कात्तिक २०८१, बुधबार

धर्मका नाममा राजनीति र अतिवाद हुन हुँदैन : प्रधानमन्त्री

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसँग जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीको भेट । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, कात्तिक २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा मङ्गलबार जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले धर्म निरपेक्ष मुलुक नेपालमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीतिकरण भएमा त्यसले समाजलाई बिथोल्ने बताउनुभएको हो ।


“नेपालमा एकातिर हिन्द राज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर क्रिश्चियन धर्म विस्तार गर्ने नाममा मानिसको गरिबीको दुरुपयोग गरिएको छ ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस्ता कुराहरूलाई हामी क्रमशः नियन्त्रण गर्छौँ । हामीले कुनै पनि धर्मका नाममा असहिष्णुता र सङ्कीर्णता राख्नु हुँदैन । कुन धर्म मान्ने भन्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा हो । त्यसको हामी सम्मान गर्छौ ।’’

भेटका अवसरमा आचार्य श्री महाश्रमणजीका शिष्य मुनि रमेशकुमारजी र मुनि रत्नकुमारीलगायतले समाजमा नैतिकता, सद्भावना, मानव एकता, नशाबाट मुक्ति र शान्तिका लागि आफूहरूले गर्दै आएका कामबारे अवगत गराउनुभएको थियो ।