• ११ पुस २०८१, बिहिबार

समृद्धि र विकास हाम्रो साझा चाहना : मुख्यमन्त्री कँडेल

blog

पत्रकार भेटघाटमा बोल्दै मुख्यमन्त्री यमलाल कँडेल। तस्बिरः विशाल सुनार

विशाल सुनार

दुल्लु, कात्तिक २७ गते। कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कर्णाली सरकारको समृद्धि र विकास हाम्रो साझा चाहना भएको बताउनुभएको छ। कर्णाली प्रदेश सरकारले थालेका विकास गतिविधिको बारेमा जानकारी तथा सरोकारवाला पक्षसँगको अन्तरक्रियाका लागि दैलेख आइपुग्नु भएका मुख्यमन्त्री कँडेलले यस्तो बताउनुभएको हो। 

तिनै तहको सरकारले आ–आफ्नो तप्काबाट काम गरेको भए पनि प्रदेश सरकारबाट केही नभएको जस्तो सञ्चार भइरहेको प्रति सङ्केत गर्दै आवश्यक सुधारको प्रयास जरुरी भएको बुझाई रहेको बताउनुभयो। प्रदेश सरकारको गतिविधिलाई थप प्रभावकारी बनाउनका लागि नीति तथा कार्यक्रमबाटै पास भएर आएका योजनाको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधिसहित कर्मचारीको भूमिकाले महत्त्व राख्ने भन्दै कँडेलले आ–आफ्नो तहबाट जिम्मेवारी पुरा गर्नुपर्ने जिकिर गर्नुभयो। 

पछिल्लो समय दिनानुदिन बढ्दै गएको सवारी दुर्घटना, अत्यधिक महँगो यात्रा, रुट प्रमिटको विषयमा पत्रकारले राखेको जिज्ञासामा उत्तर दिँदै सवारी धनीको मात्र नभएर यात्रु समेत जिम्मेवार नागरिक बन्नुपर्नेमा जोड दिनुभयो।

प्रदेश सरकारबाट निर्माणाधीन अवस्थामा रहेको पुराना र अलपत्र योजनालाई सम्पन्न गरेर आवश्यक बजेट समेत प्रबन्ध गर्दै नयाँ काममा लाग्ने योजना रहेको समेत मुख्यमन्त्री कँडेलले बताउनुभयो।

आयोजक समेत रहेको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा दैलेखका अध्यक्ष तथा कार्यक्रमको अध्यक्षता गर्नुभएका यज्ञराज थापाले पारस्परिक जबाफदेहिता बिना सम्बन्ध मात्र नभएर योजना पनि अलपत्र पर्ने र बढ्दै जाने तिक्तताले व्यवस्था माथि नै प्रश्न उठ्ने गरेकाले सार्वजनिक सरोकारको विषयमा आम नागरिकप्रति सबै जबाफदेही हुनुपर्ने बताउनुभयो।