• २७ पुस २०८१, शनिबार

सरकारी वकिल कार्यालयमा लामिछानेको बयान सुरु

blog

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही। तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, कात्तिक २७६ गते। सहकारी बचत अपचलनबारे अनुसन्धानका लागि भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ। 

मङ्गलबार भैरहवा ल्याइएका लामिछानेको रुपन्देही जिल्लाको सरकारी वकिल कार्यालयमा बयान लिन सुरु गरिएको हो। उहाँलाई मङ्गलबारै विमानबाट पोखरादेखि भैरहवा ल्याइएको थियो।

पछिल्लो पटक आइतबार मात्र कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासत राख्न अनुमति दिएपछि प्रहरीले उहाँलाई रुपन्देही ल्याएको हो।

पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बन्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ।

यसैबिच लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई पहिलो पटक कात्तिक ४ गते पाँच दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रो पटक सात र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ।

प्रहरीले सहकारी ठगी मुद्धामा बढीमा २५ दिन, सङ्गठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ।