• २८ कात्तिक २०८१, बुधबार

कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो प्रतिवेदन

blog

तस्बिर : रासस

काठमाडौँ, कात्तिक २७ गते । कुलेखानी जलविद्युत केन्द्रको ड्याममा भएको क्षतिबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई प्रतिवेदन बुझाएको छ ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण कुलेखानी जलविद्युत केन्द्रको ड्यामको ढोका खोल्दा तल्लो तटीय क्षेत्रमा क्षति पुगेपछि ऊर्जामन्त्री खड्काले गत असोज २२ गते अध्ययन समिति गठन गर्नुभएको थियो ।

उक्त समितिले १५ दिन लगाएर स्थलगत अध्ययन तथा छानबिन गरी उक्त प्रतिवेदन आज बुझाएको हो । विद्युत विकास विभागका उपमहानिर्देशक गोकर्णराज पन्थको संयोजकत्वमा गठित उक्त समितिले तल्लो तटीय क्षेत्रमा भएको क्षतिको विषयमा स्थलगत निरीक्षण गरी क्षतिको विवरण सङ्कलन गरिएको समितिले जनाएको छ ।

कुलेखानी ड्यामको ढोका मापदण्डअनुसार खोलिएको नखोलिएको विषयमा विस्तृत रुपमा अध्ययन गरी भविष्यमा हुने क्षति न्यूनीकरण गर्ने विषयमा सुझाव दिइएको समितिका सदस्य–सचिव एवम् मन्त्रालयका उपसचिव शालिग्राम भण्डारीले जानकारी दिनुभयो । रासस