• १० मंसिर २०८१, सोमबार

रूबियोलाई विदेशमन्त्री बनाउने ट्रम्पको तयारी

blog

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

वासिङ्टन, कात्तिक २७ गते । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई विदेशमन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको छ ।

नाम उल्लेख नगरीकन विभिन्न तीन जनालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, “आफ्नो उपराष्ट्रपति पदकाे उम्मेदवारको रूपमा चयन गरेका रूवियोलाई ट्रम्पले विदेश मन्त्रीको सम्भावित उम्मेदवारका रूपमा प्रस्तुत गर्नुभएको छ । यो निर्णय अन्तिम होइन ।”

जर्मनीका लागि पूर्व राजदूत रिक ग्रेनेलसँगै रुबियोलाई अमेरिकी कूटनीतिको नेतृत्व गर्ने अग्रपङ्क्तिका व्यक्तिका रूपमा गत हप्तादेखि चर्चा गरिएको छ ।

रुबियोले गत साता सीएनएनसँग भन्नुभएको थियो, “म जहिले पनि यो देशको सेवा गर्न इच्छुक छु ।” क्युबाको विरासत बोकेका कट्टर पन्थी सांसदको मनोनयनले ट्रम्पसँगको सम्बन्धमा उल्लेखनीय परिवर्तन ल्याउनेछ ।

सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवारी दिने क्रममा रुबियोले ट्रम्पलाई ‘ठग कलाकार’ र ’अहिलेसम्मकै सबैभन्दा अश्लील व्यक्ति’ भन्नुभएको थियो ।

मियामीमा क्युबाली आप्रवासीको कोखबाट जन्मिएका उहाँले सन् १९९३ मा फ्लोरिडा विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गर्नुभएको थियो ।

सन् २०१० मा बाराक ओबामा राष्ट्रपतिमा निर्वाचित भएपछि रिपब्लिकनहरूको अति दक्षिणपन्थी दल टी पार्टीले उहाँको चुनावी अभियानलाई बढावा दिँदै उहाँ अमेरिकी सिनेटमा निर्वाचित हुनुभएको थियो । रासस/एएफपी