• १९ पुस २०८१, शुक्रबार

तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद नहुने निश्चित

blog

वीरेन्द्रनगरस्थित प्रदेश रंगशाला । तस्बिर : रजनी योगी

रजनी योगी
सुर्खेत, कात्तिक २७ गते ।
तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने निश्चितजस्तै भएको छ । सरकारले तोकिएकै मितिमा प्रतियोगिता आयोजना गर्न नसक्ने जनाइएको छ । एकातर्फ तोकिएकै मितिमा प्रतियोगिता नहुने भएको छ भने अर्कोतर्फ नयाँ मिति समेत घोषणा नहुनुले त्रास सिर्जना गराएको छ ।

केही महिना अघि दशौँ राष्ट्रिय खेलकुदसम्बन्धी छलफल गर्न सुर्खेत आएका खेलकुदमन्त्री तेजुलाल चौधरीले तोकिएकै मितिमा प्रतियोगिता आयोजना गर्न तयारी अपुग भएको बताएपछि निर्धारित मितिमा प्रतियोगिता नहुने सङ्केत देखिएको हो । आगामी मङ्सिर २ देखि ९ गतेसम्म आयोजना हुने भनिएको प्रतियोगिताको लोगो, मस्कट र गीत सार्वजनिक भइसकेको छ । तर अहिले तोकिएकै मितिमन प्रतियोगिता नहुने भएपछि नयाँ मिति घोषणा गर्नुपर्ने कर्णाली खेलकुद परिषद्ले जनाएको छ ।

परिषदका सदस्य सचिव विश्वमित्र सञ्ज्यालले फागुनसम्म नयाँ मिति तोक्न सरकारलाई सुझाव दिएको बताउनुभयो । अधिकांश खेलाडी विद्यार्थी भएकाले उपयुक्त समय फागुनमा नै हुने उहाँको भनाइ छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा २०७९ जेठ २२ देखि २८ सम्म भएको नवौँ राष्ट्रिय खेलकुद समापन समारोहबाट कर्णालीले दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा गरिएको थियो । सोही घोषणाअनुरूप कर्णालीले दशौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि झण्डा मात्रै ल्याएको छैन, प्रतियोगिता आयोजनाका लागि व्यापक तयारी समेत गरिरहेको छ ।

पहिलोपटक ठूलो प्रकृतिको खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अवसर पाएको कर्णालीले नयाँ खेलकुद पूर्वाधार निर्माणदेखि भएका पूर्वाधारहरू सुधार तथा खेलकुद गतिविधिलाई तीव्रता दिइरहेको कर्णाली खेलकुद विकास परिषद्ले दाबी गर्दै आएको छ ।

कर्णालीमा खेलाउन सकिने खेलहरूको वर्गीकरण गरेर दश वटै जिल्लामा सञ्चालन गर्ने गरी तयारी भइरहेको परिषद्ले जनाएको छ । अन्तिम चरणमा आएर प्रतियोगिता नहुने भएपछि यतिबेला कर्णालीको खेल गतिविधि सुस्ताएको छ । सङ्घीय सरकारले नयाँ मिति तोक्न बिलम्व गर्न नहुने प्रदेश सरकारले जनाएको छ । खेल आयोजना गर्नका लागि तयारी अन्तिम चरणमा पुगेको प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताउनुभयो । पूर्वाधार निर्माणका काममा प्रदेश सरकारले सहयोग गरिरहेको बताउँदै उहाँले नयाँ मिति तोक्न सङ्घीय सरकारले ढिलाई गर्न नहुने जानकारी दिनुभयो ।

ठाउँ–ठाउँमा खेलपूर्वाधार
दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर कालिञ्चोक क्रिकेट मैदान निर्माण गरिएको छ । २०८० मङ्सिर ८ गतेदेखि क्रिकेट मैदानको काम सुरु गरिएको थियो । उक्त क्रिकेट मैदान निर्माण सम्पन्न भइ प्रयोगमा आइसकेको परिषदका सदस्य सचिव सञ्ज्यालले बताउनुभयो ।

यसैगरी, वीरेन्द्रनगरमै अर्को क्रिकेट रंगशाला निर्माण भएको छ । चार करोड ५९ लाख लागतमा क्रिकेट मैदान निर्माणको काम भएको हो । वीरेन्द्रनगर नगरपालिकाको गुरुङचोक र चिसापानीमा फूडबल मैदान निर्माण तयार पारिएको छ ।

दैलेखमा कभर्डहल मर्मत गरिएको छ । उपभोक्ता समितिमार्फत् मर्मतको काम गरिएको हो । यस्तै, रूकुमपश्चिममा पनि कभर्डहल मर्मतको काम सम्पन्न भएको छ । प्रतियोगिता लक्षित पूर्वाधार निर्माणका लागि कभर्डहल मर्मत गरिएको जिल्ला खेलकुद विकास समिति रूकुमपश्चिमले जनाएको छ । हुम्लामा हकी खेलमैदान निर्माण भएको छ । खेल मैदान निर्माणको काम तोकिएकै समयमा सकिएको जिल्ला खेलकुद विकास समिति हुम्लाले जनाएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी जुम्लामा पनि खेल पूर्वाधार निर्माण भएका छन् । जुम्लामा भलिवल खेल मैदान तथा प्याराफिट निर्माण गरिएको छ ।

अधिकांश स्थानका खेलपूर्वाधार बनिसकेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सञ्ज्यालले बताउनुभयो । रारामा कबड्डी खेल मैदान निर्माण सकिएको उहाँले जानकारी दिनुभयो । दैलेख र रूकुमपश्चिममा कर्भड हल मर्मत गरिएको, हुम्लामा हक्की खेल मैदान निर्माण, जाजरकोटको कुदुमा फुटबल खेलमैदान निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । डोल्पाको दुनैमा कर्भड हल मर्मत गरिएको छ । जिल्ला–जिल्लामा खेलपूर्वाधार समेत तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

प्रदेश रंगशालाको ९६ प्रतिशत काम सकियो
वीरेन्द्रनगरस्थित प्रदेश रंगशाला निर्माणको काम हालसम्म ९६ प्रतिशत सम्पन्न भएको छ । अब रंगशालाको चार प्रतिशत काम मात्र बाँकी रहेको छ । निर्माणधिन प्रदेश रंगशालामा १४ प्रकारका खेल सञ्चालन गर्ने तयारी छ । अहिले प्रदेश रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वित्तीय प्रगति ९५ प्रतिशत भएको छ । उक्त रंगशाला निर्माणका लागि एक अर्ब ५० करोड बजेट कार्यान्वयन भएको छ ।