• १२ पुस २०८१, शुक्रबार

सिङ्गडा खेतीबाटै मनग्य आम्दानी लिँदै कहार परिवार

blog

कपिलवस्तु नगरपालिका ५ दलदलहा स्थित पोखरीमा सिङ्गडा टिप्दै । तस्विरः नारद कोहार

नारद कोहार

कपिलवस्तु, कात्तिक २७ गते । मौसमी फलको रूपमा रहेको सिङ्गडा खेतीबाट कपिलवस्तु नगरपालिका १ कहार टोलका कमलेश कहार मनग्य आम्दानी गर्दै आइरहेको छन् ।

चाडपर्वका बेला अधिक माग बढ्ने भएकाले यसको खेती गरी अहिले कहार समुदायका सबैलाई जिल्लाका विभिन्न स्थानमा लाग्ने बजारहरूमा सिङ्गडा बेच्न भ्याइनभ्याई छ । अहिले बजारमा सिङ्गडाका माग अधिक भएकाले तालतलैया तथा पखेरीमा फलेको मौसमी फल सिंगडा टिपेर बिक्री गरिरहेका छन् ।

४५ वर्षे कमलेशले सिङ्गडा बिक्रीबाट आफूले राम्रो आम्दानी गर्दै आएको बताउनुभयो । माछापालनका लागि ठेक्का लिएका तालमा सिङ्गडा उत्पादन गरी उहाँले राम्रो कमाइ गरिरहेका छन् । उहाँले बजारमा अहिले सिङ्गडाको माग धेरै भएकाले पोखरी, ताल तलैयामा फलेको सिङ्गडा सङ्कलन गरी बजारमा लगेर बिक्री गर्नमा आफ्नो पूरै परिवार व्यस्त रहेको बताउनुभयो ।

कमलेश आफूसहित अन्य ६ जनालाई पनि ज्याला दिई सिङ्गडा टिप्न लागाउने गरेका छन् । उहाँले दैनिक ६ सयका दरले ६ जना कामदार राखेका छन्  । पोखरीमा रहेको सिङ्गडा र माछाको रेखदेखका लागि पोखरी छेउमै कच्ची घर बनाएर कमलेश श्रीमतीसँगै बस्ने गरेका छन् ।

कपिलवस्तु नगरपालिकाभित्र रहेका ३ वटा पाेखरी, ताल, तलैया ठेक्कामा लिई रोपिएको सिङ्गडा टिपेर राम्रो आय आर्जन गरिरहेका छन् । कपिलवस्तु नगरपालिका ५ दलदलाहामा ८ कट्ठा, वडा नम्बर ४ पिपरीमा ४ कट्ठा पोखरीमा सिङ्गडा खेतीसहित माछापालन गर्दै आएका छन् ।

उहाँले भन्नुभयो ‘अनेक दुःख कष्ट सहेर सबै जना कमाउन भनेर विदेसिन्छन् तर म सानो लगानीले घरमै बसेर खाना लाउन र धेरै बचत गरिरहेको छु’ । ‘गतवर्ष ७० हजार बचाए अहिले एक लाखको कारोबार गर्ने योजनमा छु’ उहाँले भन्नुभयो ‘ठुलो आम्दानी गर्न नसके पनि ७ जनाको परिवार पाल्न अरू काम गर्नुपर्दैन, कसैसँग ऋण कर्जा पनि लिनु परेको छैन ।’ खाई पिई थोरै बचत पनि हुने गरेको उहाँको भनाइ छ ।

पुस्तौँदेखि भाडा माझ्ने, माछा मार्ने पेसामा लागेका आफ्नो पुर्खाहरू अहिले भने केही परिवर्तनको सङ्घारमा रहेको कमलेशको भनाइ छ । सिङ्गडा खेतीका लागि कृषि ज्ञान केन्द्रले अझै सम्म कुनै सहयोग नगरेको उहाँले गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो ‘बीउ बिषदी सबै भारतबाट किनेर ल्याउनुपर्छ, सरकारबाट कुनै सहयोग पाएकाे छैन’।

सिङ्गडा खेतीका लागि वार्षिक एक लाखभन्दा बढी खर्च हुने गरेको उहाँले बताउनुभयो । घर बनाउन बैङ्कबाट लिएको ऋण अझै तिर्न नसेको गुनासो गर्नुभयो ।  कमलेशले पोखरीमा  माछापालन समेत गरेका छन् । त्यसबाट पनि राम्रो आम्दानी गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

तालतलैया, पोखरी, जलाशयमा सजिलै बीउ छरेर खेती गर्न सकिने भएका कारण पनि कहार समुदायले आफ्नो पुर्ख्याैली पेशा जोगाइराखेका छन् । उहाँ त प्रतिनिधि पात्र मात्र हुन् । कमलेश जस्तै कपिलवस्तु नगरपालिका वडा नं. १ र २ का कहार टोलका करिब ३५ बढी घर परिवारले सिङ्गडा खेती गरेरै जीविकोपार्जन गरिरहेका छन् ।

जेठ-असारमा लगाएको सिङ्गडा असोज-कात्तिकमा तयार भई मङ्सिर-पुस महिनासम्म बिक्री गर्न सकिन्छ । असोज कात्तिकमा पर्ने दसैँ, तिहार र हरिबोधिनी एकादशीमा सिङ्गडा बढी बिक्री हुने हुँदा सिङ्गडा खेती गर्नेहरू बढी उत्साहित हुन्छन् । सिङ्गडा प्रायः सबैले खान्छन्, तर यो विशेष गरी व्रतालुले खाने फल हो । सिङ्गडाको भित्रको गेडालाई उमालेर, सुकाएर, पिँधेर पीठो बनाई रोटी पनि खाने चलन छ ।

यो फल ४० देखि ६० रुपियाँ प्रतिकिलो बिक्री हुने गर्दछ । मौसमी फल सिङ्गडा खेतीका विषयमा भने कृषि ज्ञान केन्द्रसँग आधिकारिक कुनै तथ्याङ्क छैन । कृषि ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेलका अनुसार सिङ्गडा खेतीबाट कहार समुदायले राम्रो प्रतिफल पाए पनि कार्यालयसँग कुनै तथ्याङ्क नरहेको बताउनुभयो ।