• २७ मंसिर २०८१, बिहिबार

कक्षा ११ र १२ का २१ वर्ष पुराना परीक्षार्थीलाई मौका परीक्षा

blog

राष्ट्रिय परीक्षा बोर्ड ।

काठमाडौँ, कात्तिक २७ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का २१ वर्ष पुराना परीक्षार्थीहरुका लागि मौका परीक्षाको आवेदन खुला गरिसकेको छ ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार २०५६ देखि २०७७ सालसम्मका पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीका लागि यो मौका परीक्षा खुलाइएको हो ।

उहाँका अनुसार कक्षा ११ र १२ को अङ्कन प्रणालीको परीक्षामा सहभागी भइ कुनै विषयमा अनुत्तीर्ण वा अनुपस्थित भएको वा अक्षराङ्कन पद्धतिमा तोकिएको ग्रड प्राप्त गर्न नसकेका जम्मा विद्यार्थी सङ्ख्या १४ लाख छ ।

परीक्षा नियन्त्रक शर्माले भन्नुभयो, “उच्च माध्यमिक शिक्षा परिषद् गठन भएपछि २०५५ सालदेखि नयाँ पाठ्यक्रम लागू भयो र २०५५ देखि २०७७ सम्म पुरानै प्रणालीबाट परीक्षा भइरहेको थियो । २०७८ सालदेखि नयाँ पाठ्यक्रम लागू भइसकेको विद्यार्थीले अहिले वार्षिक परीक्षामै जाँच दिन पाउँछन् ।”

उहाँका अनुसार धेरै विद्यार्थीले मौका परीक्षा दिने निवेदन आएकाले बोर्डले पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिन आवेदन खुलाउने निर्णय गरेको हो ।

उहाँले भन्नुभयो, “विद्यार्थीहरु धेरैले हामी जाँच दिन चाहन्छौं, मौका परीक्षा दिन पाउनपर्‍याे भनेर हामीकहाँ धेरै निवेदनहरु आए । तत्पश्चात् २०५६ देखि २०७७ सालसम्मका विद्यार्थीलाई यो पटक मौका परीक्षा दिने निर्णय गर्‍याैं । त्यस्ता विद्यार्थी करिब १४ लाख छन् ।”

उहाँले हाल मौका परीक्षाका लागि आवेदन खुलाइएकोमा विद्यार्थीको सङ्ख्याको आधारमा परीक्षा सञ्चालनका लागि मिति तय हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिलो चरणमा हामीले १४ लाखको आवेदन फाराम मागेका छौं । १४ लाख नै आए भने व्यवस्थापन गर्न गाह्रो हुन्छ । सामान्यतया, चार, पाँच लाखसम्म हामीले व्यवस्थापन गर्न सक्छौं । चार–पाँच लाख विद्यार्थी आए भने यही माघमा परीक्षा लिने । यो भन्दा बढी आए तीन चरणमा परीक्षा लिन्छौं । पहिलो चरणमा माघमा, दोस्रो चरणमा वैशाखमा र बाँकी तेस्रो चरण मङ्सिरमा लिन्छौं । त्यो तीन चरणमा हुन्छ ।’’

कति परीक्षार्थीले आवेदन दिन्छन् भन्ने आधारमा चरणबद्धरुपमा परीक्षाको मिति तय हुन सक्ने उहाँको भनाइ छ ।

यसरी दिन सकिन्छ अनलाइन आवेदन :
राष्ट्रिय परीक्षा बोर्डका अनुसार आगामी मङ्सिर २७ गतेभित्र आवेदन फाराम बुझाइसक्नुपर्नेछ । यसका लागि परीक्षा आवेदन शुल्क एक हजार रुपियाँ बोर्डको खातामा दाखिला गर्नुपर्नेछ ।

परीक्षा आवेदन फाराम परीक्षार्थी स्वयंले भरेको हुनुपर्दछ । विद्यालयले परीक्षार्थीको उक्त विवरणलाई अनलाइनमार्फत प्रविष्टि गर्ने व्यवस्था मिलाउनेछ ।

यसका लागि सम्बन्धित लिंकहरु M

https://www.neb.gov.np/ 

https://exam.neb.gov.np/



Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।