शशिधर पराजुली
विराटनगर, कात्तिक २५ गते । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो र मोरङ प्रहरीको टोलीले पूर्वमन्त्री अधिकारीलाई आज दिउँसो विराटनगर-२ बरगाछीस्थित उहाँकै निवासबाट नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालयका मोरङका प्रहरी उपरीक्षक नारायण चिमोरियाको नेतृत्वमा गएको टोलीले अधिकारीलाई दिउँसो साढे १ बजे नियन्त्रणमा लिएको थियो ।
पूर्वमन्त्री अघिकारीको निवासमा सादा पोसाकका प्रहरीले शनिबार रातिदेखि नै घेरा हालेको स्थानीयहरूले जानकारी दिनुभएको छ । आइतबार अदालतबाट पक्राउ पुर्जी लिएपछि मात्र प्रहरी उहाँको निवासमा प्रवेश गरेको थियो ।
मानव तस्करीको आरोप लागेपछि पक्राउ पर्नुभएका मन्त्री अधिकारीले अनुसन्धानमा सहयोग गर्न काठमाडौँ जान लागेको प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभयो ‘म अनुसन्धानमा सहयोग गर्न काठमाडौँ जान लागेको हुँ, अनुसन्धानमा सहयोग गर्नु मेरो दायित्व हो, बाँकी कुरा अनुसन्धानबाट जे हुन्छ त्यसै अनुसार अघि बढ्छ ।’
मन्त्री अधिकारीलाई पक्राउ गर्न प्रहरी पुग्दा विराटनगर-२ बरगाछीस्थित अधिकारी भाडामा बस्दै आएको घर वरिपरि प्रहरी, स्थानीय, पत्रकारहरूको भिड लागेको थियो । सांसद अधिकारीलाई दिउँसो १:५० बजेको यती एयरको उडानबाट काठमाडौँ लैजाने तयारी गरिएकोमा केही समय उडानमा ढिलाइ भइरहेको मोरङका प्रहरी उपरीक्षक नारायण चिमोरियाले जानकारी दिनुभयो ।
तत्कालीन मन्त्री अधिकारी आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्म आयोजना गरेको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन कात्तिक १३ गते जापानतर्फ जानुभएको थियो ।
प्रदेश तथा सङ्घीय मन्त्री परिषदबाट अनुमति नलिई जापान भ्रमणमा जानुभएका अधिकारीलाई जापानस्थित विमानस्थलमा २५ घण्टा होल्ड गरी उहाँसँगै गएका अरू चार जनालाई पनि नेपालतर्फ फर्काइदिएको थियो । नेपाल फर्किने क्रममा त्रिभुवन विमानस्थलबाट नक्कली परिचय पत्र बोकेका तीन जनालाई प्रहरीले सोही कात्तिक १७ गते नै पक्राउ गरेको थियो भने तत्कालीन मन्त्री अधिकारी र उहाँसँगै जापानबाट फिर्ता हुनुभएकी अनिता तिम्सिनालाई कागज गराएर अध्यागमन कार्यालयबाट बाहिरिनुभएको थियो ।
प्रहरीले असम्बन्धित व्यक्तिहरूसँग आन्तरिक मामिला तथा कानुन मन्त्रालयको परिचय पत्र र कागजातहरू भेटेपछि विमानस्थलबाट फकाईएका तीन जनामाथि सरकारी कागजपत्र किर्ते गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यस दिन अधिकारीको साथमा रहेका रसुवाका कञ्चन देवकोटा, खोटाङका दावा शेर्पा र जनक राई पक्राउ परेका थिए । उनीहरूको बयानका आधारमा नक्कली कागजपत्र तयार पार्ने कार्यमा संलग्न नुवाकोटको विदुरका जुगल रिजाल, दोलखाको जिरीका वीरबहादुर सुनुवार र धादिङको त्रिपुरासुन्दरीका महेश पाण्डेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यस घटनामा संलग्न मानिएका मोरङ रतुवामाईका गोपाल गौतम भने अहिलेसम्म फरार छन् ।
मन्त्री पदको दुरुपयोग गरी जापानमा मानव तस्करी गर्न खोजेको अभियोग लागेपछि प्रहरीले अधिकारीलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । पूर्वमन्त्री अधिकारीसमेत यस घटनामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि पूर्वमन्त्री अधिकारीमाथि अनुसन्धान नगरेको भन्दै सरकारको आलोचना भइरहेको थियो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जापान भ्रमणमा नजान भनी गर्नुभएको आग्रहलाई बेवास्ता गर्दै जापान जानुभएका अधिकारीका कारण पार्टीमाथि गम्भीर आरोप लागेको भन्दै नेकपा एमाले कोशी प्रदेश कमिटीले शनिबार उहाँलाई सबै जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई केन्द्रको सचिवालय बैठकले हिजो शनिबार साँझै अनुमोदन गरेको थियो । त्यसअघि कात्तिक २२ गते उहाँले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो ।