• २७ पुस २०८१, शनिबार

शिवनाथ मेलामा छालाको ‘गिर’

blog

शिवनाथ मन्दिरमा लगिँदैँ गरेको छालाको गिर । तस्बिर सौजन्य: केशवबहादुर चन्द

गोकर्ण दयाल  

बैतडी, कात्तिक २५ गते । छालाको गिर (भकुन्डो) खेलेर यहाँको प्रसिद्ध शिवनाथ मन्दिरमा मेला मनाइएको छ । कात्तिक सप्तमीको रातिदेखि सुरु भएको मेला अष्टमीको बिहान मन्दिरमा विधिवत् पूजाआजा गरी छालाको गिर खेलेर मनाइएको हो । 

शिवनाथ गाउँपालिका–६,मा रहेको प्रसिद्ध शिवनाथ मन्दिरमा मेला लाग्नु अघि धामी र पुजारीले स्थानीय भानमति धारामा नुहाएर आएपछि मेला शुभारम्भ हुन्छ । मेलाको असरमा शुक्रवार गाउँपालिकाले बिदा दिएको छ । 

शिवनाथ गाउँपालिका–५, कफाडी मन्दिरमा दसैँका बेला बलि दिएको पहिलो राँगाको छालाबाट स्थानीय पहरी जातीले परालको भुस राखेर छालाको गिर बनाउने चलन छ । तयार भएको गिर दमाहा बजाउँदै सप्तमीको बेलुकी मन्दिरमा लगेर धनाडी क्षेत्री र दमाई जातीका व्यक्तिलाई बुझाउने चलन रहेको छ । बेलुकी मन्दिरमा पुर्‍याएको गिर अष्टमीको बिहान दर्शनार्थीले एक आपसमा खोसाखोस गरेर खेल्ने गर्छन् ।  

यसअघि स्थानीय धनाडी र साउद जातीका बिचमा मात्रै प्रतिस्पर्धा हुने गरेकोमा पछिल्लो समय मन्दिर दर्श गर्न आउने सबैले सामूहिक रूपमा खेल्ने गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । 

मेलामा छिमेकी मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाबाट दमाहा बजाएर जात्रा आउने गरेको छ । त्यसैगरि, पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र भारतको उत्तराखण्ड राज्यबाट समेत दर्शनार्थी आउने गरेका छन् ।  

शिवनाथमा असोज नवरात्र, चैत नवरात्र,असार र साउन महिनामासमेत मेला लाग्ने गर्छ । कात्तिक सप्तमी र अष्टमीका दिन लाग्ने मेलामा छालाको गिर खेल्ने भएकाले यो मेलामा दर्शनार्थीको बढी घुइँचो लाग्ने गरेको गर्दछ ।   शिवनाथ गाउँपालिका–५, कफाडीबाट पहरी जाति र ठकुरीहरूको सामूहिक देउरोसँग छालाबाट बनेको भकुन्डो (गिर) खेल्दै जाने गरेको दृश्य आकर्षक हुने शिवनाथ गाउँपालिका–५,का वडाध्यक्ष केशवबहादुर चन्दले  बताउनुभयो ।

मेलामा स्थानीय खानाका परिकार, बाँस चोयाको डोको/डालो, कृषि औजार हँसिया, कुटो कोदाला जस्ता वस्तुको व्यापारसमेत हुने गरेको छ ।