• ५ मंसिर २०८१, बुधबार

भुरुङ तातोपानी मुस्ताङ यात्राको चिसो फाल्ने स्थल

blog

तातोपानी कुण्डमा स्नान गर्दै पर्यटकहरू । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, कात्तिक २५ गते । कालिगण्डकी कोरिडोरमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानी कुण्ड मुस्ताङ यात्राको चिसो फाल्ने स्थलका रूपमा विकास भएको छ । कालिगण्डकी नदी किनारमा रहेका दुई वटा तातोपानीका कुण्ड यतिखेर मुस्ताङ भ्रमण गरेर फर्किएका पर्यटकले भरिभराउ भएको छ । दैनिक रूपमा पाँच सय देखि सात सय जना पर्यटकले कुण्डमा स्नान गर्ने गरेका छन् । 

बिहान ६ बजे देखि बेलुका ९ बजे सम्म नै तातोपानी कुण्डमा स्नान गरेर चिसो फाल्ने र थकान मेटाउने पर्यटकको अहिले निकै भिडभाड छ । दसैँ पछिका दिनहरूमा मुस्ताङ भ्रमण जाने पर्यटक सङ्ख्यामा उल्लेख्य वृद्धि भएकाले तातोपानीमा पर्यटकको चाप बढेको तातोपानी कुण्ड सञ्चालक अमृतमान शेरचनले बताउनुभयो । 

उहाँले भन्नुभयो,‘‘अपर मुस्ताङ सम्म पुगेर फर्किएका पर्यटकहरू चिसो फाल्न र यात्राको थकान मेटाउन तातोपानी कुण्डमा स्नान गर्दछन् । दसैँ पछिका दिनहरूमा पर्यटकले तातोपानी भरिभराउ भएको छ ।’’ पर्यटक बढेसँगै तातोपानी क्षेत्रका होटेल व्यवसायीहरू उत्साहित भएको उहाँको भनाई छ । 

पर्यटकलाई आकर्षित गर्न तातोपानी कुण्ड वरपर नियमित सरसफाइ र पर्यटकमैत्री वातावरण बनाएको उहाँले बताउनुभयो । तातोपानीको कुण्ड नजिकै कपडा फेर्ने ठाउँ, धारा,सार्वजनिक शौचालयलाई व्यवस्थित बनाएको उहाँको भनाई छ । तातोपानीमा स्नान गर्न आएका पर्यटकको सुविधाका लागि कुण्ड परिसरमा क्यान्टिन समेत सञ्चालन गरिएको छ । 

काली गण्डकी नदीको किनारमा ६९ डिग्री सेल्सियसमा मूलबाट निस्किएको पानीलाई ३६ डिग्रीदेखि ४५ डिग्री सेल्सियससम्ममा तापक्रम मिलाइएको पानीमा पर्यटकले स्नान गर्ने व्यवस्था मिलाइएको कुण्ड सञ्चालक शेरचनले बताउनुभयो । 

मुस्ताङ भ्रमणमा आएका पर्यटकका साथै अन्नपूर्ण पदयात्रामा आएका पर्यटक तातोपानी झरेर स्नान गर्दछन् । कुण्डमा स्नानका लागि स्वदेशीलाई  ५० र विदेशीलाई  एक सय ५० रुपियाँ शुल्क तोकिएको छ । 

कुण्डमा प्रवेश शुल्क र क्यान्टिन सञ्चालन गर्न गाउँपालिकासँग चालु आर्थिक वर्षमा ५६ लाख २५ हजार तीन सय ७७ रुपियाँमा ठेक्का सम्झौता गरेको होटेल हट स्पिरिङका सञ्चालक समेत रहनुभएका शेरचनले बताउनुभयो ।