गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २५ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सातै प्रदेशमा आधुनिक गोदामघर निर्माण गर्ने भएको छ । प्रत्येक प्रदेशमा खाद्यान्नको भण्डारण गर्ने गरी कम्पनीले १० लाख मेट्रिक टन क्षमताको गोदामघर निर्माण गर्ने तयारी गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले खाद्यान्नको भण्डारण क्षमता बढाएर सातै प्रदेशमा आधुनिक गोदामघर निर्माण गर्ने योजना अगाडि बढाइएको जानकारी दिनुभयो ।
हाल कम्पनीसँग देशभर डेढ लाख मेट्रिक टन खाद्यान्न भण्डारण क्षमता छ । खाद्यान्नको भण्डारण क्षमता न्यून भएकाले आपूर्ति व्यवस्था सहज बनाउन क्षमता बढाउन लागिएको कम्पनीले जनाएको छ । कम क्षमताको भण्डारण हुँदा प्राकृतिक बाढीपहिरोलगायतका आपत्कालीन अवस्थामा खाद्यान्नको आपूर्ति गर्न कठिन भएकाले सातै प्रदेशमा क्षमता बढाउन लागिएको आचार्यले जानकारी दिनुभयो । प्रत्येक वर्ष सरकारले बजेटमार्फत सातै प्रदेशमा खाद्यान्न भण्डारण क्षमता बढाउने घोषणा गरे पनि अझै कार्यान्वयनमा आउन सकेको थिएन । कम्पनीले खाद्यान्न आपूर्ति व्यवस्था सहज र सुरक्षित राख्न सातै प्रदेशमा आपत्कालका लागि मुलुकभर २५ हजार मेट्रिक टन खाद्यान्न राष्ट्रिय खाद्य बैङ्कमा सुरक्षित राख्ने प्रचलन छ । सार्क देशमा खाद्यान्नको सङ्कट हुँदा आपूर्ति व्यवस्था सहज बनाउने २५ हजार मेट्रिक टन खाद्यान्न मौज्दातमा राख्ने गरिएको कम्पनीले जनाएको छ ।
खाद्यान्न भण्डारण गरेबापत कम्पनीले सरकारबाट अनुदान र भण्डारणबापतको रकम पाउँछ । किसानबाट धान खरिद गरी कुटाएर कम्पनीले खाद्यान्नको मौज्दात राख्ने गरेको छ । कम्पनीले दुर्गम तथा सुगम जिल्लामा खाद्यान्न ढुवानी गर्दै आएको छ । उपभोक्तालाई राहत दिन चाडपर्वका बेला कम्पनीले सुपथ मूल्यमा खाद्यान्न पनि वितरण गर्दै आएको छ । स्थानीय पालिकासँग समन्वय गरेर १२ महिना नै सुपथ पसल सञ्चालन गर्ने तयारी गरिरहेको पनि कम्पनीले जनाएको छ । स्थानीय पालिकाले सुपथ पसल सञ्चालन गर्ने ठाउँ उपलब्ध गराए १२ महिनै खाद्यान्न उपलब्ध गराएर सुपथ मूल्य पसल सञ्चालन गर्ने गरी छलफल भइरहेको प्रमुख कार्यकारी अधिकृत आचार्यले जानकारी दिनुभयो ।