• १२ पुस २०८१, शुक्रबार

अलैँचीको मूल्य एक लाखनजिक

blog

भट्टीमा सुकाउन अलैँची छोडाउँदै एक महिला किसान ।

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक २५ गते । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदा प्रतिमन एक लाख रुपियाँनजिक पुगेको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको मूल्य मन (४० किलोग्राम) को अर्थात् ९७ हजार रुपियाँ पुगेको हो । 

स्थानीय व्यवसायी कमल बरालका अनुसार शनिबार प्रतिमन ९७ हजार रुपियाँमा कारोबार भएको छ । ठुलो दाना, धुलो र पुच्छररहित गुणस्तरीय अलैँची उक्त मूल्यमा खरिदबिक्री भएको उहाँले जानकारी दिनुभयो । सामान्य अर्थात् चलनचल्तीको अलैँची भने प्रतिमन ९१ हजार रुपियाँमा कारोबार भएको उहाँले बताउनुभयो ।

व्यवसायीका अनुसार शुक्रबारसम्म अलैँचीको मूल्य स्थानीय बजारमा मनको ९० हजार रुपियाँ रहेको थियो । प्रतिमन एक हजार र एक हजार पाँच सय रुपियाँले वृद्धि हुँदै आएको अलैँचीको मूल्य यस पटक एकैचोटी छ हजार रुपियाँभन्दा बढीले वृद्धि भएको व्यवसायी बताउँछन् । यस वर्ष अलैँची बजारमा उपलब्ध हुन सुरु हुँदा नै मूल्य मनको ६० हजार रुपियाँभन्दा माथि थियो । अलैँची बजारमा आउन थालेपछि मूल्य निरन्तर बढ्दै गएको अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिनुभयो । भदौको पहिलो सातादेखि बजारमा पाउन थालेको अलैँचीको मूल्य यस पटक सामान्य भए पनि निरन्तर बढिरहेको अध्यक्ष रेग्मीले बताउनुभयो । अहिले अलैँची निस्कने व्रmम पनि जारी रहेको छ । हिजोआज लेक क्षेत्रमा रहेको बगानबाट किसानले धमाधम अलैँची निकाली रहेका छन् । मङ्सिर पहिलो सातासम्ममा अलैँची टिप्ने र थन्क्याउने काम सकिने किसानको भनाइ छ । 

अलैँची ताप्लेजुङको प्रमुख नगदेबालीमा पर्दछ भने नेपालकै सबैभन्दा धेरै अलैँची उत्पादन हुने जिल्ला पनि हो । यहाँ करिब चार हजार पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट करिब तीन हजार मेट्रिक टन अलैँची उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ । यता अलैँचीको मूल्य निरन्तर बढ्दै जाँदा स्थानीय किसान तथा व्यवसायी उत्साहित छन् ।