• २७ पुस २०८१, शनिबार

‘कर्णाली याक्स’को जर्सी सार्वजनिक

blog

कर्णाली याक्सको जर्सी सार्वजनिक गरिँदै ।

काठमाडौँ, कात्तिक २४ गते । नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्सले आफ्नो खेल पोसाक (जर्सी) सार्वजनिक गरेको छ । 

काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले स्थानीय झझल्को दिने जर्सी सार्वजनिक गरेको हो । जर्सीमा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने हिमाली भूभाग, रारा र से–फोक्सुन्डोको तालरूपी निलो रङ्ग तथा कर्णालीमा पाइने याकको प्रतीक रहेको छ ।

मार्की खेलाडी सोमपाल कामी  र ‘फेस अफ कर्णाली याक्स’ कलाकार स्वस्तिमा खड्काले जर्सी सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा पूर्व उप प्रधानमन्त्री तथा खेलकुद मन्त्री पूर्णबहादुर खड्का, कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का, क्यान प्रवक्ता छुम्बी लामा, टिम प्रशिक्षक ज्ञानेन्द्र मल्लसँगै कर्णाली याक्समा आबद्ध खेलाडीको सहभागिता रहेको थियो ।

पूर्व मन्त्री खड्काले कर्णाली याक्सलाई प्रतियोगिताको लागि शुभकामना दिनुभयो । उहाँले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको बताउँदै कर्णालीको  हिमालीभाग, धार्मिक स्थल, कर्णालीसँगै जोडिएको भूभाग कैलाश मानसरोवर भ्रमण गर्न जो कोहीलाई कर्णाली याक्समार्फत हौसला प्राप्त हुने विश्वास गर्नुभयो । 

क्यानमा सचिव पारस खड्काले कर्णाली याक्सलाई समर्थन गर्न समर्थक जर्सी धारण गरेर टियु मैदान आउने आशा गर्दै काठमाडौँ नै कर्णालीमय भएको बताउनुभयो । 

कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कार्मीले एनपीएलमा टिमले सोचेको जस्तो प्रदर्शन दिने बताउनुभयो । एनपीएल मङ्सिर १५ देखि पुस ६ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।