• १८ पुस २०८१, बिहिबार

समाजभित्र गाँजिँदै सिकलसेल

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), कात्तिक २४ गते । पश्चिम नेपालका थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा देखिएको सिकलसेल रोगको परीक्षण र उपचारमा सरकारले एक लाख रुपियाँ बराबरको उपचार खर्च दिने गरेको छ तर कैलालीका कतिपय पालिकामा निःशुल्क सुविधा हुँदाहुँदै पनि परीक्षण तथा उपचारमा सचेतना अपनाइएको छैन । 

कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा रहेको घोडाघोडी अस्पतालमा २०७४ सालदेखि सिकलसेल रोग परीक्षणसँगै रोगीलाई नियमित निःशुल्क औषधी सेवनको सुविधा दिन सुरु गरिएको हो । सुविधा भएर पनि सो अस्पतालमा सिकलसेल परीक्षणका लागि थारू समुदायका व्यक्ति कम आउने गरेका अस्पतालले जनाएको छ ।

सो अस्पतालका सिकलसेल स्रोत व्यक्ति सोमेन्द्र चौधरीले अस्पतालले विगतमा सिकलसेल रोग पहिचानका लागि शिविरसमेत सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले एक सय जना थारू समुदायका मानिसको रगत परीक्षण गर्दा १० जनामा सिकलसेल एनिमिया पोजेटिभ देखिएको उल्लेख गर्नुभयो । पोजेटिभ देखिएका सबै रोगी नहुने जनाउँदै उहाँले रोगीले नियमित औषधी सेवन गर्नुपर्ने बताउनुभयो ।

सो अस्पतालमा टीकापुर, जोशीपुर, जानकी, भजनी, लम्कीचुहा, बर्दगोरिया, गौरीगङ्गालगायतका क्षेत्रबाट सिकलसेल परीक्षणका लागि आउने भए पनि घोडाघोडी नगरपालिकाकै सबैभन्दा कम परीक्षणमा आउने गरेको उहाँले जनाउनुभयो । उहाँले भन्नुभयो, “जनचेतनाको कमी भनौँ कि लापर्बाही, परीक्षणको सुविधा हुँदा पनि स्थानीय नै परीक्षणमा कम आउने गर्छन् ।” 

हालसम्म घोडाघोडी अस्पतालमा नियमित उपचार गराइरहेका ४१२ जनामध्ये छ जनाको मृत्यु भइसकेको छ भने १० जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ । नेपाल सरकार विपन्न नागरिक औषधी उपचार कोष कार्यक्रम लागु भएको सो अस्पतालमा अहिले पनि सिकलसेल एनिमियाको निःशुल्क परीक्षण तथा उपचार सुविधा उपलब्ध छ ।

त्यसै गरी सेती प्रादेशिक अस्पताल धनगढीमा नौ सयभन्दा बढी सिकलसेल बिरामीले नियमित उपचार गराइरहेका छन् । अस्पतालका सामाजिक एकाइ प्रमुख गौरी जोशीले आर्थिक वर्ष २०७२/७३ देखि अस्पतालले सिकलसेलको निःशुल्क परीक्षण तथा उपचारको सुविधा उपलब्ध गराउँदै आएको जनाउँदै विभिन्न समयमा सिकलसेल परीक्षणका लागि शिविर सञ्चालनसमेत गर्ने गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सिकलसेल दुई किसिमको हुन्छ, परीक्षणमा पोजेटिभ देखिएका सबै रोगी हुँदैनन् । समस्या देखिएकामध्ये १० प्रतिशतमा एक प्रतिशत रोगी भेटिने गरेका छन् ।”

सिकलसेल वंशाणुगत रूपमा सर्ने रोग हो । विशेषज्ञका अनुसार सिकलसेलसम्बन्धी समस्या दुई किसिमका हुन्छन् । एउटा सिकलसेल बिरामी र अर्को सिकलसेलवाहक । रोगीमा हातखुट्टा र शरीरका जोर्नी दुख्ने, रगतको कमी हुने जस्ता लक्षण देखिन्छन् तर सिकलसेलवाहक भएका व्यक्तिमा खासै स्वास्थ्यसम्बन्धी समस्या देखिँदैन । डा. राजन पाण्डेले सिकलसेल वंशाणुगत रूपमा सर्ने भएकाले ‘सिकलसेल कुण्डली’ बिहेबारी अपनाउँदा नयाँ पुस्तामा सर्नबाट बचाउन सकिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “त्यसका लागि सिकलसेल परीक्षण जरुरी छ । यसो गर्दा रोगी रोगीबिचमा, रोगी र वाहकका बिचमा बिहेबारी गर्नु हुँदैन । रोगवाहक वाहकका बिचमा बिहेबारी गर्दा पनि सन्तान रोगी जन्मने सम्भावना रहन्छ ।”

रोगी र वाहकले निरोगीसँग बिहेबारी गरेमा जन्मेका सन्तानमा सिकलसेल वाहक देखिने भए पनि वाहकमा खासै स्वास्थ्य समस्या नहुने जनाइएको छ । सिकलसेल रोग उपचार गरेर पूर्ण रूपमा निको हुँदैन तर चिकित्सकको परामर्शमा आजीवन औषधी सेवनले यसलाई नियन्त्रणमा राख्न सकिने चिकित्सकको भनाइ छ ।